मकवानपुरसहित १२ जिल्लामा गरियो लैङ्गीक अनुसन्धान, ‘लिंग पहिचानले छोराको संख्या बढी’

हेटौडा न्युज
१० पुष २०७६, बिहीबार १७:००
;

एक वर्षभन्दा मुनिको जनसंख्याको लैंगिक अनुपातमा असन्तुलनका संकेत देखापर्न थालेका छन् । वातावरण, स्वास्थ्य, जनसंख्यासम्बन्धी गतिविधिको अनुसन्धान केन्द्र (कृपा) र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले हेटौंडामा मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सयजना छोरीको जन्म हुँदा एक सय पाँचभन्दा बढी छोरा जन्मिने गरेका छन् 

‘छोरा र छोरीको जन्मको संख्याको आधारमा यस्तो फरक पाइयो,’ कृपाका निर्देशक आनन्द तामाङले भने, ‘लिंग पहिचान गरेर भ्रुण हत्या गर्ने प्रवृत्ति मौलाउँदो देखियो ।’

बच्चा जन्मनुअघि लिंग पहिचान र विभेदपूर्ण लिंग छनोट भइरहेकाले तराई र पहाडका केही जिल्लाको जनसंख्यामा लैंगिक असमानता देखिन थालेको कृपाको तथ्यांकमा उल्लेख छ । मकवानपुरसहित १२ जिल्लामा गरिएको अनुसन्धानमा एक वर्षमुनिका जनसंख्याको सबैभन्दा बढी लैंगिक विभेद अर्घाखाँची जिल्लामा देखिएको छ । सबैभन्दा कम मकवानपुरमा रहेको छ । अर्घाखाँचीमा एक वर्ष उमेर समूहमा बालबालिकामध्ये एक सय बालिकाको अनुपातमा एक सय २७ बालक रहेका छन् । मकवानपुरमा भने एक सय बालिकाको तुलना एक सय ५ बालक रहेको तथ्यांकमा देखाइएको छ । कास्की, ललितपुर, पाल्पा, काठमाडौं, रुपन्देही, गुल्मीलगायत १२ जिल्लामा अनुसन्धान गरिएको थियो ।

छोराको प्राथमिकता र विभेदपूर्ण लिंग छनोटको प्रचलन तुलनात्मक आर्थिक रूपले सम्पन्न, शिक्षित र सहरिया महिलामा देखिएको छ । ‘पारिवारिक वंशलाई निरन्तरता दिने, अन्तिम संस्कार गर्न आवश्यक पर्ने र बुढेसकालको सहारा बन्नेजस्ता पुरातन मान्यता र विश्वासले छोराप्रति मोह बढ्दै गएकाले जनसंख्यामा लैंगिक विभेद फराकिलो देखिएको निर्देशक तामाङले बताए । कार्यक्रममा प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले पितृसतात्मक सोच र चिन्तनमा परिवर्तन ल्याउन नसकेसम्म लैंगिक विभेदको अन्त्य नहुने बताइन् । स्रोत कान्तिपुरदैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*