घर भत्किँदा २ वर्षिय एक बालकको मृत्यु, आमा घाइते
घर भत्किँदा च्याप्पिएर एक बालकको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन् । डडेल्धुराको नवदुर्गा गाउँपालिका १ ओली गाउँका यज्ञबहादुर ओलीको घर भत्किँदा उनका दुई वर्षीय छोरा किरण ओलीको मृत्यु भएको हो ।
आइतबार दिउँसो एक्कासी दुई कोठे कच्ची घर भत्किँदा च्यापिएर किरणको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घर भत्किदा केशवकी ३५ वर्षीया श्रीमती तारादेवी ओली गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख विरेन्द्रबहादुर बोहराले जानकारी दिए । गम्भीर घाइते तारादेवीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको स्रोतले जनाएको छ ।
बालकको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।