वडाध्यक्षको मिलेमतोमा दुई विद्यालयको एउटै प्रश्नपत्र
जनज्योति माध्यमिक विद्यालय पञ्चपुरी–१० मा पुष ८ गते अंग्रेजी विषयको शिक्षकका लागि परीक्षा भयो।
पञ्चपुरी–८ मा रहेको अर्को शिद्धेश्वरी माध्यमिक विद्यालय सान्नेमा पनि पुष १५ गते अंग्रेजी विषयकै शिक्षकका लागि परीक्षा भयो। यी दुई विद्यालयमा राहत शिक्षकका लागि भएको परीक्षाको प्रश्नपत्र भने हुबहु मिलेका छन्।
यी प्रश्नपत्र एकै हुनुमा पञ्पुरी ८ का वडाध्यक्ष एवम् शिद्धेश्वरी माविका अध्यक्षको मिलेमत्तो भएको पाइएको छ। पौडेल नै पञ्चपुरी नगरपालिका–८ का वडा अध्यक्ष हुन्। उनको विद्यालय (शिद्धेश्वरी)मा भएको शिक्षकको परीक्षामा पञ्चपुुरीमै रहेको सूर्यप्रकाश माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक टिकाराम बास्तोला र जनता माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक लालबहादुर राना विषय विज्ञका रुपमा थिए।
टिकाराम एक हप्ताअघि परीक्षा भएको जनज्योति माविमा पनि विषय विज्ञका रुपमा नै थिए। वडा अध्यक्षको योजनाअनुसार नै बास्तोलालाई शिद्धेश्वरीमा भएको परीक्षाको विषय विज्ञका रुपमा ल्याइएको थियो।
यसरी दुवै विद्यालयमा एउटै प्रश्नपत्र हुनुमा सोही प्रश्नपत्रमा परीक्षा भएको विद्यालयको विषय विज्ञलाई अर्को विद्यालयमा ल्याउनु देखिन्छ।
शिद्धेश्वरीमा भएको शिक्षकको परीक्षमा रुपेन्द्र यादव, भुवन तिवारी र सुरेन्द्र वाग्लेले परीक्षा दिएका थिए। तीमध्येबाट सुरेन्द्र वाग्ले छनोट पास भए। उक्त नतिजा आएपछि छनोट भएका वाग्लेका प्रतिस्पर्धी रुपेन्द्रले प्रश्नपत्र एउटै भएको थाह पाए।
पञ्चपुरी नगरपालिका नगर शिक्षा शाखाले तयार पारेको ६० पूर्णाङ्कको प्रश्नपत्रमा भएका ६ वटा प्रश्नहरु हुबहु मिलेका छन्। ‘गत मंगवार लिइएको परीक्षामा तयार पारिएका प्रश्नपत्र एउटै रहेछन् भन्ने बुधवार थाहा भयो,’ यादवले भने, ‘त्यसपछि नगर शिक्षा शाखा पञ्चपुरीमा निवेदन दिएपछि त्यसको कुनै सुनुवाइ भएन, प्रश्नपत्र बाहिरिनु सरासर शिक्षा नीतिविपरित हो।’
उनले परीक्षा अमर्यादित र नीतिविपरीत भएको भन्दै शिक्षा शाखा पञ्चपरीमा ‘पुनः परीक्षा गराइपाउँ भनी निवेदन दिएका छन्।
यादवले निवेदन दिएपछि नगर शिक्षा शाखाले छानबिनका लागि नगरपालिकामा सिफारिस गरेको छ। त्यसअनुसार नगरपालिकाले सूचना अधिकारीसमेत रहेकका चुडामणि कँडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। नगर शिक्षा शाखा प्रमुख दोर्ण पाठकका अनुसार छानबिन समितिलाई १५ दिनभित्र छानबिन गर्न निर्देशनसमेत दिइएको छ। समितिले भने यस विषयमा अझसम्म छानबिनको सुरुवात् समेत गरेको छैन।
छानबिन समितिका संयोजक कँडेलले समितिमा रहेका सदस्य बिदामा बसेकाले छानबिन सुरु हुन नसकेको बताए। ‘समितिका सदस्य बिदामा बसेका कारण काममा ढिलाई भएको हो, १५ दिनभित्र छानविन गरिसक्ने लक्ष्यका साथ शनिवारबाट छानबिन सुरु गरिनेछ,’ उनले भने।
वडाध्यक्ष तथा शिद्धेश्वरीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्ति पौडेलले भने आफू यस विषयमा अनभिज्ञ रहेको बताएका छन्। शिद्धेश्वरीमा पौडेलले छनोट भएका सुरेन्द्र वाग्लेलाई नियुक्त गरिसकेका छन्। टेलिफोनमा पौडेलले शिक्षक छनोट प्रक्रिया नीति अनुरुप नै गरेको जिकीर गरे। ‘भोलिपल्ट नगरमा निवेदन परेको छ अरे भन्ने सुनियो, हामीले शिक्षकलाई नियुक्ति दिई अध्यापन गर्न लगाएका छौं,’ उनले भने, ‘त्यसपछि अन्य कुरा जानकारीमा आएको छैन। विद्यालयमा शिक्षक चाहिएपछि आवेदन लिई विधिगत रुपमै छनोट गरेका हौं।’
विद्यालय निरीक्षकविना परीक्षा
विद्यालयहरुमा शिक्षकको परीक्षाका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षको अध्यक्षतामा विद्यालयको प्रधानाध्यापक सदस्य सचिव, विद्यालय निरीक्षकसहित ३ जनाको समिति हुने प्रावधान शिक्षा नियमावलीमा छ। नियमावलीमा यस्तो व्यवस्था उल्लेख भए पनि पञ्चपुरीको शिक्षा शाखा र शिद्धेश्वरी माविले व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र नगर शिक्षा शाखा प्रमुखको समिति बनाई परीक्षा सञ्चालन गरेको छ। ऐनमा सोही नगर तथा गाउँपालिकामा विद्यालय निरीक्षक भएको खण्डमा निरीक्षकको उपस्थितिमा परीक्षा गर्ने र यदि विद्यालय निरीक्षक नभएको खण्डमा शिक्षा विकास तथा समन्वय इकाईले तोकेको अधिकृतलाई पठाउनुपर्ने व्यवस्था छ।
शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख नारायण पौडेलले जुन स्थानीय तहमा विद्यालय निरीक्षक छैन, त्यहाँको स्थानीय तहले विद्यालय निरीक्षक पठाइदिनु भनेर जानकारी दिएपछि आफूहरुले पठाउने गरेको बताए। तर पञ्चपुरी उक्त विद्यालयको परीक्षाका लागि कुनै जानकारी नआएको बताए।
‘प्रश्नपत्र एउटै हुनु र नीतिविपरीत शिक्षकको परीक्षा लिनु गलत नियत हो,’ पौडेलले भने, ‘विवाद भएको ठाउँमा नियुक्ति दिएपछि त्यो नीतिभन्दा माथि उठेर गरेको काम हो।’ विद्यालयको प्रश्नपत्र एउटै र विद्यालय निरीक्षक नभएको अवस्थामा लिइएको परीक्षा अमान्य हुने बताउँदै सम्बन्धित स्थानीय तहले समाधान नगरे शिक्षा विकास तथा समन्वय इकाईले नै समाधान गर्ने पौडेलले बताए। स्रोत : नेपाललाईभ