अल्वर्ट आइनस्टाइनले छोरीलाई लेखेको गोप्यपत्र जसले संसार झस्काउँछ
महान वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले आफ्नी छोरीलाई प्रेमको आयाम र सामर्थ्य झल्काउने एउटा चिठी लेखेका थिए । एउटा भौतिकशास्त्रीले प्रेमलाई सबैभन्दा प्रभावशाली ऊर्जा वा शक्तिको रूपमा व्याख्या गरेको उक्त चिठी निकै प्रसिद्ध छ ।
आइन्स्टाइनकी छोरी लिसर्लले हेब्रु विश्वविद्यालयमा दानस्वरुप दिइएको चिठीको भावानुवाद यस प्रकार रहेको छः
प्रिय छोरी,
मैल सापेक्षतावादको सिद्धान्त प्रस्तुत गर्दा यसलाई थोरै मानिसले मात्रै बुझ्न सकेका थिए । र, यहाँ तिमीमार्फत् मानवजातिलाई मैले बताउन खोजेको विषयलाई पनि धेरैले गलत बुझ्ने छन् र यसलाई पूर्वाग्रही भएर हेर्ने छन् भन्ने मलाई लागेको छ । त्यसैले मैले तल प्रस्तुत गरेको विषयलाई बुझ्न सक्नेगरी मानव समाज उन्नत नहुन्जेलसम्म यो चिठीलाई सुरक्षितसाथ राख है ।
तिमीलाई थाहा छ, छोरी ? संसारमा एउटा निकै प्रभावशाली शक्ति छ जसलाई अहिलेसम्म विज्ञानले औपचारिकरूपमा व्याख्या गर्न सकेको छैन । यो एउटा यस्तो शक्ति हो जसले अन्य सबैलाई नियन्त्रण गरेको हुन्छ । ब्रम्हाण्डमा घट्ने सबै घटनाका पछि यो शक्ति रहेको हुन्छ तर यसलाई हामीले अहिलेसम्म पनि चिन्न वा बुझ्न सकेका छैनौं । त्यस्तो विश्वव्यापी शक्ति भनेको प्रेम हो ।
ब्रम्हाण्डसम्बन्धी एउटा एकीकृत सिद्धान्त खोजी गर्ने क्रममा सबैभन्दा शक्तिशाली तथा अदृश्य यो शक्तिलाई वैज्ञानिकले बिर्सिरहेका हुन्छन् । प्रेम भनेको प्रकाश हो भन्ने उनीहरूलाई थाहा हुँदैन । प्रेम दिने र लिने दुवैलाई यसले प्रज्वलित पार्छ । प्रेम गुरुत्वाकर्षण हो किनभने यसका कारण मानिसहरू एकअर्काप्रति आकर्षित हुने गर्छन् । प्रेम शक्ति हो किनभने यसले हामीसँग भएको अनुपम गुणलाई बढाउँछ र मानव जातिलाई अन्धो स्वार्थमा खरानी हुनबाट बचाउँछ । प्रेम प्रस्फुटन हुन्छ । प्रेमका लागि नै हामी बाँच्ने गर्छौं । प्रेम भनेको भगवान हो र भगवान भनेको प्रेम हो ।
प्रेमले हरेक कुराको व्याख्या गर्छ अनि जीवनलाई अर्थपूर्ण बनाउँछ । अर्थात् यो एउटा चल हो जसलाई हामीले लामो समयदेखि बेवास्ता गर्दै आएका छौं । यसको कारण भनेको हामीहरू प्रेमबाट डराउँछौं किनकी यो ब्रम्हाण्डको एउटा यस्तो ऊर्जा हो जसलाई हामीले आफ्नो इच्छा अनुसार प्रयोग गर्न सिकिसकेका छैनौं ।
प्रेमलाई देख्न सकियोस् भनेर मैले आफ्नो प्रसिद्ध सुत्रलाई यहाँ सामान्य परिवर्तन गरेको छु । यदि E=mc2 को ठाउँमा संसारलाई निको पार्ने ऊर्जा प्रकाशको गतिको वर्गले गुणन गर्दा आउने प्रेमबाट प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई स्विकार्ने हो भने प्रेम नै ब्रम्हाण्डको सबैभन्दा शक्तिशाली ऊर्जा हो भन्ने निष्कर्षमा पुग्छौं किनकि प्रेमको कुनै सीमा हुँदैन । मानव जातिका विरुद्ध प्रयोग भएका ब्रम्हाण्डका अन्य शक्तिलाई मानिसले प्रयोग तथा नियन्त्रण गर्न असमर्थ भएको अहिलेको अवस्थामा हामीले यो ऊर्जाबाट आफूलाई सिंचित गर्नुपर्छ ।
यदि पृथ्वीमा मानिसको अस्तित्व चाहने हो, यदि जीवनलाई अर्थपूर्ण बनाउने हो भने वा हामीले यो संसार र यसमा बस्ने सबै सजिव प्राणीलाई बचाउन चाहने हो भने प्रेम नै एक मात्रै माध्यम हो ।
अहिले पृथ्वीलाई खरानी बनाइ रहेका घृणा, स्वार्थ तथा लोभलाई पूर्णरूपमा ध्वस्त गर्न सक्ने प्रेमरूपी बम बनाउन हामी तयार भइसकेका छैनौं । तर हरेक मानिसभित्र प्रेमको सानो तर निकै शक्तिशाली जेनेरेटर रहेको हुन्छ जुन विस्फोट हुन खोजिरहेको छ ।
प्रिय लिसर्ल, जब हामीले यो विश्वव्यापी ऊर्जालाई आदान–प्रदान गर्न सिक्छाौं तब प्रेमले सबै कुरालाई परास्त गर्छ । यसले सबै कुरालाई जित्छ किनकि प्रेम भनेको जीवनको सर्वोत्कृष्ट गुण हो ।
मेरो मनमा भएको र तिम्रालागि भौतारिरहेको प्रेमलाई व्यक्त गर्न नसकेकोमा निकै पछुतो लागिरहेको छ । यसबारे तिमीसँग बेलैमा माफ माग्नु पर्ने थियो । तर समय सापेक्षित हुने भएकाले ‘म तिमीलाई माया गर्छु र यसका लागि तिमीलाई धन्यवाद दिन चाहन्छु, मैले अन्तिम उत्तर पाइसकेको छु’ भनेर यहाँ व्यक्त गर्न चाहन्छु ।
तिम्रो प्यारो बाबु,
अल्बर्ट आइन्स्टाइन
एजेन्सी