५ जना शिक्षकको सामूहिक राजिनामाले ६ घण्टा हिडेर आउने विद्यार्थीहरु मार्कामा (राजिनामा पत्रसहित)

हेटौडा न्युज
१७ फाल्गुन २०७६, शनिबार २३:०४
;

मकवानपुर जिल्लाको सदुमुकाम हेटौंडाबाट करीब ८० किलोमिटरको दूरीमा रहेको थाहा नगरपालिका वडा नम्बर–११ टिष्टुङमा रहेको बागेश्वरी माध्यमिक विद्यालयमा कार्यरत निजी श्रोतका ५ जना  शिक्षकले पारिश्रमिक थोरै भएको भन्दै सामुहिक राजिनामा दिएका छन् । शिक्षकको राजिनामा पछि पठनपाठन प्रभावित हुँदा दैनिक ६ घण्टाको दूरीबाट पढ्न आउने विद्यार्थीहरु मार्कामा परेका छन् । 

शिक्षकहरुले राजिनामा दिएपनि कक्षा भने सञ्चालन भईरहेको प्रधानाध्यापक वीरमान स्याङ्तानको दाबी छ । तर प्रधानाध्यापक स्याङ्तानको दाबी झुटो रहेको र आफूहरुको कक्षा खाली हुने गरेको विद्यार्थीहरुको भनाई रहेको छ । 

शिशु कक्षादेखि १० कक्षासम्म पढाई हुने सो विद्यालयमा थाहा नगरपालिका वडा नम्बर ११ र १२ का गरी करीब ५ सय ८० जना विद्यार्थीहरु आउने गरेका छन् । अध्ययन गर्न आउन–जान दैनिक ६ घण्टासम्म विद्यार्थीहरु हिडेर आउने गरेका छन् ।

व्यवस्थापन समितिका अध्यक्षमा सोही वडाका वडा अध्यक्ष किरणमान बल रहेको सो विद्यालयका शिक्षकले गत माघ अन्तिममा राजिनामा दिएका शिक्षकहरुको स्थानमा वैकल्पिक व्यवस्था नहुँदै सोही दिन नै राजिनामा स्वीकृत गरिएकाले पठनपाठन प्रभावित बनेको हो । आउँदो चैत्रमा कक्षा ८ को जिल्ला स्तरीय परीक्षा, एसइइ परीक्षा छ, तर पढाउने शिक्षक नै नभएपछि आफ्नो परीक्षा बिग्रिने चिन्ता विद्यार्थीहरुलाई छ । 

शिक्षक अभाव भएकाले निजी श्रोतबाट शिक्षक थप्नुपर्ने भन्दै सोका लागि विद्यार्थीहरुसँग भर्ना शुल्क वापत १ हजार रुपैया र मासिक शुल्क पनि लिने गरेको थियो ।

शुल्क वापत बार्षिक १२ देखि १५ लाख रुपैया हुने गरेको र उठाईएको शुल्क निजी श्रोतका शिक्षकहरुको पारिश्रमिकमा खर्चहुने गरेको प्रधानाध्यापक वीरमान स्याङ्तानले दाबी गरेका छन् । ""

तर निजी श्रोतका शिक्षकहरुले प्राथमिक शिक्षकले मासिक ६ हजार रुपैयाँ, निमाविले १५ हजार रुपैयाँ र माविले १७ हजार रुपैया मात्रै पारिश्रमिक पाउँदै आएका थिए । निजी श्रोतका ५ जना शिक्षकलाई विद्यालयले बार्षिक साढे ७ लाख रुपैया पारिश्रमिक वापत दिदै आएको छ । विद्यार्थीहरुबाट उठाईएको शुल्क मात्रै १२ देखि १५ लाखसम्म रहेको छ । 

शिक्षकहरुको सामूहिक राजिनामाको सम्बन्धमा थाहा नगरपालिकाका मेयर लवशेर विष्टले आफूले सामुहिक राजिनामा बारे सुनेको र समस्या समाधानको प्रयास गरिने बताएका छन् । 

सरकारी सामुदायिक विद्यालयको परीक्षाफल सामान्यतया निजी बोर्डिङ स्कूलको तुलनामा कमजोर रहेको तथ्याङ्क छ । सरकारले सामुदायिक विद्यालयको शिक्षक हरुका लागि गुणस्तरीय शिक्षाका लागि भन्दै समयसमयमा तालिम पनि दिने गरेको छ । सरकारको बजेटको ठूलो हिस्सा शिक्षाका लागि विनियोजन गर्दै आएको पनि छ ।

तर सरकारी विद्यालयको शिक्षाको गुणस्तर सधै खस्केको मात्रै पाईन्छ । सामुदायिक विद्यालयमा राजनीति हाबी हुने, जिम्मेवार व्यक्तिले यस प्रति चासो नलिनु, पठनपाठन नियमित नहुनु, कक्षा कोठामा शिक्षकको अभाव जस्ता कारणले शैक्षिक गुणस्तर खस्कदै गएको पनि बताईन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*