भन्सार पास गर्दै ७२ टन डेट एक्सपायर चिनी नेपालमा

महोत्तरीको जलेश्वर भिठ्ठामोड भन्सार नाकाबाट ७२ टन डेट एक्सपायर चिनी नेपाल भित्रिएको छ । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरको प्रयोगशाला परिक्षणबाट आयातका लागि अयोग्य प्रमाणित भएको तीन ट्रक भारतीय चिनी, जलेश्वर भन्सार कार्यालयले जाँच पास गरेको फेला परेको हो ।
गत फाल्गुण २५ गते महोत्तरीको जलेश्वर भन्सार नाकाबाट नेपालको प्रचलित कानून विपरित, मानव स्वास्थ्यलाई असर गर्ने र आयात नै रोक्नुपर्ने डेट एक्सपायर ७२ टन चिनी निर्वाध रुपमा नेपाल प्रवेश गर्न दिएको भएपनि उपभोक्ता हित संरक्षण मञ्चको पहलमा बाराको पथलैया स्थित आन्तरिक राजश्व कार्यालयले नियन्त्रणको छ । नियन्त्रणमा लिएपछि उक्त तथ्य खुल्न आएको हो ।
गत फाल्गुण २५ गते नै नेपालको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, महोत्तरीले सो चिनी प्रयोगशालामा गरेको परीक्षण गरी उपभोग्य मिति समाप्त भईसकेकोले प्रयोग गर्न नमिल्ने, प्रयोग भएमा मानव स्वास्थ्यलाई हानी पुर्याउने र आयात गर्न नमिल्ने भनी प्रमाणित गरेको थियो । सो कुरा जलेश्वर भन्सार कार्यालयलाई खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, महोत्तरीले लिखित रुपमा प्रमाणित प्रमाणपत्र सहित उल्लेख गरेको छ ।
भारतको सिम्भावली सुगर लिमिटेडद्वारा उत्पादित सो चिनीलाई प्रज्ञापन पत्र एम १०४१।०६।०३।२०२० को मिति २०७६ माघ १३ गते र फागुन १६ गतेको विल विजक नम्बर १४००००२२६९, १४००००७० र १४००००२६६६ बाट आयात भएको देखिएको छ । २०१८ मार्च महिनामा प्याकिङ गरिएको भारतीय चिनीको उपभोग्य मिति २४ महिना उल्लेख छ भने सो मिति अनुसार चिनीको उपभोग्य मिति २०२० को फेब्रुअरी महिनामै समाप्त भैसकेको छ ।
तर आयातमा प्रतिबन्धित ७२ टन चिनीलाई भन्सार कार्यालयको मिलेमतोमा नेपाल प्रवेश गराईएको देखिएको हो ।
गत फागुण २५ गते उपभोक्ता हित संरक्षण मञ्चले पाएसँगै मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी सहितको पहलमा प्रहरी प्रशासनलाई खबर गरेपछि सोहि दिनको राति १ बजे ७२ टन चिनी सहित बाराको आन्तरिक राजश्व कार्यालयको टोलील ना ८ ख २१५२, ना ५ ख ५६७३ पक्राऊ गरेको थियो भने, फाल्गुण २९ गते बिहान ५ बजे ना ७ ख ८३७९ नम्बरका ट्रक नियन्त्रणमा लिएको थियो ।
मञ्चका केन्द्रीय उपाध्यक्ष अधिकारीका अनुसार नेपाललाई डेट एक्सपायर सामानको डम्पिङ साईट बनाउन नहुने र संयुक्त राष्ट्र संघको आठवटा मानव सुचांकको आधार पूरा गर्न भन्सार कार्यालयको बदनियत देखिएकाले कार्वाही हुनुपर्ने माग गरेका छन् ।
पक्राऊ परेका ती ट्रकहरुमा प्रत्येक ट्रकमा २४ टनको दरमा डेट एक्सपायर चिनी रहेका छन् भने, नियन्त्रणमा लिईएका चिनी आयात गर्नेमा काठमाडौंको बागेश्वरी नगरपालिका वडा नम्बर ९, गोधुली नगरको अनुष्का मल्टिपर्पोज कम्पनी प्रा.लि रहेको छ । अनुष्का मल्टिपर्पोजले गत पौष ६ गते आयात अनुमति लिएको थियो ।
आयात कर्ताले राजश्व छली समेत गरेको भेटिएको र नियन्त्रणमा लिएको सामान उपर आवश्यक अनुसन्धान भईरहेको आन्तरिक राजश्व कार्यालय, पथलैयाले जानकारी दिएको छ ।
यस सम्बन्धमा महोत्तरी भन्सार कार्यालयले सो चिनी ग्रिन च्यानलबाट आएकोले व्यवसायीले गरेको स्वघोषणा अनुसार त्यसको कुनै चेक जाँच नहुने दाबी गरेको छ । ग्रिन च्यानल अनुसार आएको कुनैपनि वस्तुको भन्सार चेक नहुने, कुनै कमजोरी भएमा स्वयम् आयात कर्ता नै जिम्मेवार हुने उसको भनाई रहेको छ । आयातमा प्रतिबन्धित चिनी भित्रिनुमा भन्सार कार्यालय भिठ्ठामोडको कुनै कमजोरी नरहेको बताउँदै आएको छ ।
पछिल्लो समय सरकारले विमानस्थल, भन्सार नाकाहरुमा कडाईका साथ चेकजाँच गरिरहेको बताउँदै आए पनि नेपालका भन्सार तथा नाकाहरु कति सुरक्षित र चुस्त छन् भन्ने कुरामा प्रश्न चिन्न खडा भएको छ । नाकामा कार्यरत सरकारी कर्मचारीहरुले कतिसम्म जिम्मेवार छन् यो घटनाले प्रष्ट पारेको छ । सरकारी कर्मचारीहरु कानुनको अधिन रहेर कानूनी कार्य गर्छन् तर आयातमा प्रतिबन्ध लगाएको खाद्य वस्तु भन्सार पास भएर नेपाल भित्रिएकोे तथ्य सार्वजनिक हुँदा कर्मचारीहरुकै नियत माथि प्रश्न उठेको छ ।