कोरोनाको प्रभावः हवाई क्षेत्रमा ८ अर्ब नोक्सानी

हेटौडा न्युज
१ चैत्र २०७६, शनिबार २०:०९
;

काठमाडौं : पर्यटक आवागमनमा कमी आएसँगै मुलुकको आन्तरिक तथा बाह्य हवाई उडान प्रभावित बन्न पुगेको छ। आगामी वैशाखसम्म सबै अनअराइभल भिसामा कटौती गरेसँगै हवाई क्षेत्रमा यात्रुको चापमा करिब ५० प्रतिशतले नै कमी आएको वायुसेवा सञ्चालकले बताएका छन्।

पछिल्लो आंकलनअनुसार आन्तरिक उडानमा करिब ८ अर्ब रुपैयाँ घाटा व्यहोर्ने नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए। एकहप्ता अघि मात्रै संघले ४ अर्बको नोक्सानी हुने आंकलन गरेकोमा अहिले ९० प्रतिशतसम्म उडान कटौती हुने प्रक्षेपण गरेको हो। १० प्रतिशत आन्तरिक चहलपहलका कारण उडान हुने अपेक्षा गरिएको छ।

‘अहिले ५० प्रतिशतभन्दा कमले यात्रु कटौती भएको छ। २७ वटा हेलिकप्टरमध्ये शुक्रबार ३ वटाले मात्र ३ घण्टा उडान भरेका छन्, जबकी यो समयमा ९० घण्टा हेलिकप्टर उड्नुपथ्र्यो’, उनी भन्छन्।

नेपालको प्रमुख पर्यटकीय सिजन वसन्त ऋतुमा पोखरा, जोमसोम र लुक्लामा उडान भर्न भ्याइनभ्याइ हुनुपर्नेमा लुक्लामा १२ उडानमा ४ वटा मात्रै भएको छ भने शुक्रबार पोखरामा १३ वटा उडान भएका छन्। प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेका यी स्थानमा जाने यात्रुको संख्यामा निकै नै कमी आएको उनी बताउँछन्।

त्रिभुवन विमानस्थलमा दैनिक ६० देखि ६५ अन्तर्राष्ट्रिय उडान हुने गरेकोमा घटेर हाल ३० देखि ३५ मात्रै अन्तर्राष्ट्रिय उडान हुन थालेका छन्। मार्च महिनाको अहिलेसम्म हवाई मार्गबाट ६४ हजार १६४ जना नेपाल भित्रिएका छन् जसमा नेपालीको नै बर्चस्व देखिएको छ। विमानस्थल अध्यागमन शाखाका प्रमुख सागर आचार्यका अनुसार कोरोना असर अघि नेपाल आउने यात्रुमा ४४ प्रतिशत विदेशी र ६६ प्रतिशत नेपाली हुने गरेकोमा पछिल्लो अनुपात अनुसार ७५ प्रतिशतभन्दा बढी नेपाली नै छन्।

वायुसेवा सञ्चालकलाई केही राहत दिन अन्तर्राष्ट्रिय इन्धनको मूल्यमा गिरावट आइरहेकाले हवाई इन्धनको मूल्यमा समायोजन गर्न माग गरिएको छ। वायुसेवा सञ्चालनको सबै खर्चमध्ये ४० प्रतिशत खर्च हवाई इन्धनमा हुने गरेको छ। सरकारले हवाई इन्धनको मूल्य घटाए हवाई भाडादर घटाउन सकिने र यसले यात्रुहरूले सहुलियत पाउने हुन्छन् भन्दै नेपाल आयल निगमले लिँदै आएको १९.२२ रुपैयाँको मुनाफालाई घटाएर १० रुपैयाँ बनाउनुपर्ने शर्माले बताए।

निगमको उडान कटौती

कोरोनाकै कारण नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा केही कटौती गरेको छ। जसअनुसार दैनिक दुईवटा उडान गर्दै आएको काठमाडौं –दिल्ली–काठमाडौं उडान मार्च १५ देखि लागु हुने गरी एउटा मात्र गरिने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अव विहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ।

बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्बईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्चदेखि १५ अप्रिल सम्म स्थगित गरिएको छ। बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको छ। काठमाडौं दोहा बीचको उडान फागुन २७ गतेदेखि नै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिसकिएको छ। उपरोक्त उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइनेछ भने टिकटको उडानको मिति १ पटक परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको बताइएको छ।

स्रोतः अन्नपूर्णपोष्ट

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*