‘चीनसँग जोडिएको भए पनि रसुवालाई छैन कोरोनाको डर’

हेटौडा न्युज
१५ चैत्र २०७६, शनिबार २२:००
;

 चीनसँग सीमाना जोडिएको जिल्ला भए पनि हालसम्म रसुवामा कोरोना भाइरसको आशङ्का कहींकतै भएको छैन । सामान्य परीक्षणका लागि जिल्ला अस्पताल आउनेको संख्या पनि फाटफुट मात्र रहेको अस्पतालले जनाएको छ ।

जिल्लामा करीब ४३ हजार जनसंख्या छ । जिल्ला अस्पताल धुञ्चेमा तीन, हेल्थ डेस्क रसुवागढीमा एक र ग्रामीण अस्पताल जिबजिबेमा पाँच चिकित्सक कार्यरत छन् ।
रसुवा अस्पताल धुञ्चेका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलका अनुसार जाडोको याम घट्दै गएपछि उपचारमा आउनेको संख्या कम भएको हो ।

हाल जिल्लामा नौ जना एमबिबिएस चित्सिक कार्यरत छन् । तीमध्ये रसुवा अस्पतालमा तीन, हेल्थ डेस्क रसुवागढीमा एक र ग्रामीण अस्पताल जिबजिबेमा पाँच जना रहेकाले बिरामीको चाप जति बढे पनि उपचारमा कुनै कमी नआउने डा. खरेलले जानकारी दिए ।

रसुवाका प्रजिअ अर्जुन भण्डारीले गत माघ १५ देखि चीनसँगको उत्तरी रसुवागढी नाकाबाट केरूङतर्फको आवतजावतमा पूर्ण रोक लगाई बेलैमा सावधानी अपनाएका कारण जिल्लाको स्वास्थ्य क्षेत्र सुरक्षित हुँदै आएको चिकित्सक बताउँछन् ।

यस्तै दक्षिणी रसुवाको जिबजिबेमा सञ्चालित ग्रामीण अस्पतालमा पनि गर्मीयामको शुरूवातसँगै उपचारार्थ आउने बिरामीको संख्या घट्दै गएको अस्पतालका मेडिकल अधिकृत डा. पंकज लुइँटेलले जानकारी दिए ।

ग्रामीण अस्पतालमा दैनिक २५ देखि ३० सामान्य बिरामी आउने गरे पनि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरे लगत्तै अस्पताल आउने त्यस्ता बिरामीको संख्या घट्दै गएको डा. लुइँटेलले बताए ।

हालसम्म कोरोना भाइरसको आशंका नभेटिएको र यदि त्यस्तो किसिमको समस्या आइहाले हाल उपभोग गर्दै आएका विभिन्न औषधिबाटै उपचार गरी सबै बिरामीलाई स्वस्थ्य पार्न आफूहरू तयार रहेको कार्यरत चिकित्सक हरूले जनाएका छन् ।

सरकारको निर्देशन र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय पालना गर्दै चिकित्सकद्वारा तोकिएको क्षेत्रमा २४ सै घण्टा सेवा दिइरहेका कारण स्वास्थ्यप्रति रसुवाली नागरिकको मनोबल उच्च रहेको समाजसेवीले बताएका छन् ।

विद्यालय बन्द भएपछि राजधानीमा अध्ययनरत विद्यार्थी र विदेशमा गएका मानिस समेत आफ्नो पुख्र्याैली घरमा फर्किसकेका कारण उनीहरूको शारीरिक अवस्था कस्तो छ र के कस्तो होला भन्ने चिन्ता थपिएको पश्चिमी रसुवा डाडागाउँका बासिन्दा बताउँछन् ।

उत्तरगया गाउँपालिका वडा नं २ का वडा सचिव आशाकाजी गुरूङले भने बाहिरबाट आएका सबै मानिसको पहिचान भइरहेको र हालसम्म कुनै पनि शंकास्पद नभेटिएको बताए ।

सरकारले दिएको निर्देशन जिल्ला विपद् व्यवस्थापन समितिले तदारूकताका साथ कार्यान्वयन गरी जिल्लाका विभिन्न भागमा आइसोलेशन एवं क्वारेन्टाइन स्थापना र चिकित्सक समेतको जनशक्ति तयार गरिसकिएका कारण रसुवामा आत्तिनुपर्ने कुनै अवस्था नभएको रसुवा नागरिक समाजले जनाएको छ ।

रोग नियन्त्रणका लागि सरकारले दिएको आदेश र चिकित्सकले दिएको सुझाव पूर्ण रूपमा पालना गर्नुपर्ने हामी सबैको साझा दायित्व भएकाले विश्वमै भयावह रूप लिइरहेको कोरोना भाइरसबाट बच्न र बचाउने कार्यमा रसुवाका नागरिकले नियम निर्देशन पूर्ण रूपमा पालना गरिरहेको समेत रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।स्रोतः नयाँपेज

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*