पर्यटन क्षेत्रले माग्यो २० अर्बको राहत, एक खर्ब १३ अर्ब लगानी
नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्याङ्कअनुसार हाल पर्यटन क्षेत्रमा करिब सवा खर्ब रुपैयाँ लगानी छ ।
पर्यटन क्षेत्रमा आबद्घ संस्थाहरूको समष्टिगत तथ्याङ्क संकलनका लागि बोर्डले गरेको अनलाइन सर्वेक्षणका अनुसार यस क्षेत्रमा १ खर्ब १३ अर्ब ६२ करोड ४५ लाख रुपैयाँ लगानी रहेको छ ।
बोर्डले गरेको २ हप्ता लामो सर्वेक्षणमा ७८७ वटा फर्मले भरेको सूचनाको आधारमा यो तथ्यांक निकालिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले जानकारी दिए । जसमा टुरिस्ट भेइकल ९५, ट्रेकिङ एन्ड क्लाइम्बिङ १४४, ट्राभल÷टुर १४५, रेष्टुराँ ८६, र्याफटिङ १२, अन्य २६, होटल २४६ र एयरलाइन्स २३ कम्पनीले सहभागिता जनाएका थिए ।
तर, उक्त तथ्यांकले पर्यटन क्षेत्रमा आबद्घ १५ देखि २० प्रतिशत संस्थाको मात्र प्रतिनिधित्व गर्ने बताइएको छ । बोर्डले सर्वेक्षण सुरु गर्दा २० हजार फर्मले तथ्यांक भर्ने अपेक्षा गरेको थियो । सोचे जस्तो उपलब्धी नभए पनि पर्यटन क्षेत्रको बारेमा एउटा आधार तय गर्न यो तथ्यांकले मद्दत गर्ने कार्यकारी अधिकृत रेग्मीले जानकारी दिए ।
तथ्याङ्कअनुसार यी संस्थाको कुल बैंक ऋण ५३ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ छ भने प्रत्येक महिना कुल करिब ८१ करोड ८८ लाख रुपैयाँ ईएमआई तिनुपर्ने देखिएको छ । यी संस्थाले मासिक भाडा वापत १२ करोड २२ लाख रुपैयाँ बुझाउने गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट











