रोनाल्डोले पीएसजी जाने इच्छा

हेटौडा न्युज
२७ श्रावण २०७७, मंगलवार १३:१६
;

क्रिस्टियानो रोनाल्डोले पीएसजी जान मन गरेको बताइएको छ । युभेन्टस क्लब च्याम्पियन्स लीगबाट छिट्टै बाहिरिएपछि रोनाल्डोले पीएसजी जाने इच्छा गरेको बताइएको हो ।

रोनाल्डोको इच्छा पीएसजी जनो भए पनि पीएसजीले रोनाल्डोलाई किन्ने वा नकिन्नेबारे केहि बताएको छैन् ।

फ्रान्सेली पत्रिका फूट मर्काटोले दाबी गरे अनुसार, रोनाल्डोका एजेन्ट जोर्गे मन्डेसले पीएसजीका निर्देशक लियोनार्दोसँग कुरा गरेको दाबी गरेको छ ।

बुधवार पीएसजीले एट्लान्टाविरुद्ध क्वार्टरफाइनल खेल्दा मेन्डेसले आफ्नो कुरा फेरि राख्न सक्ने बताइएको छ ।

युभेन्टसलाई जस्तै पीएसजीलाई पनि च्याम्पियन्स लीग जित्ने ठूलो धोको छ । तर निकै मोटो रकम खर्चेर बार्सिलोनाबाट भित्र्याइएका नेयमारले पीएसजीलाई च्याम्पियन्स लीग दिलाउन नसकेकाले रोनाल्डोमा फेरि मोटो रकम खन्याउन पीएसजी अनिच्छुक रहेको बताइन्छ ।

त्यसैले फ्रान्सेली पत्रिका र वेबसाइटले पीएसजीमा रोनाल्डो आउने कुरा छापेर आफ्नो साइटमा भिजिटर बढाउने उद्देश्य मात्र लिएको देखिन्छ ।

लियोनविरुद्ध प्रिक्वार्टर फाइनलको खेल हारेर बाहिरिएपछि युभेन्टसले प्रशिक्षक माउरिजियो सार्रीलाई बर्खास्त गरेको छ । उनले जम्मा एक सीजन क्लब चलाए ।

उनको प्रशिक्षणमा युभेन्टसले इटालियन सेरी आ उपाधि जित्यो । तर च्याम्पियन्स लीगमा क्लबलाई अघि बढाउन नसकेपछि उनलाई फालिएको हो ।

त्यसो त रोनाल्डोलाई पनि च्याम्पियन्स लीग जिताउनका लागि महंगो पैसा तिरेर भित्र्याइएको हो । रोनाल्डोले पाँचपटक च्याम्पियन्स लीग जितेका छन् ।

अघिल्लो सीजनमा उनले प्रिक्वार्टर फाइनलको दोस्रो चरणमा एट्लेटिको मड्रिड विरुद्ध ह्याटट्रिक गरेर टीमलाई क्वार्टर फाइनल पुर्‍याएका थिए तर आयाक्सले उनीहरूलाई अघि बढ्न दिएको थिएन ।

उनले शुक्रवार लियोन विरुद्ध दुई गोल गरे पनि खेर गयो । समग्रमा लियोन नै गोलअन्तरमा अघि रह्यो र क्वार्टरफाइनल पुग्यो ।

युभेन्टस लज्जास्पद रूपमा प्रतियोगिताबाट चाँडै बाहिरिएपछि सार्रीको ठाउँमा आन्द्रिया पिर्लोलाई ल्याइएको छ । उनीसँग क्लब व्यवस्थापनको गतिलो अनुभव छैन ।

त्यसो त रोनाल्डोले यस सीजनमा युभेन्टसका लागि सबै प्रतियोगितामा गरी ३७ गोल गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*