भारतीय क्लब मोहम्मेदनमा नेपालका अभिषेक अनुबन्ध
काठमाडौं । भारतीय फुटबल क्लब मोहम्मेदन एससीले नेपाली फुटबलर अभिषेक रिजाल क्लबमा अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य रिजाललाई मोहम्मेदनले ३ वर्षको लागि सम्झौता गरेका हो ।
सो सम्झौता १८ अगष्ट २०२० देखि लागु हुनेछ । अभिषेक र मोहम्मेदनबीचको सम्झौता रकम भने खुलाइएको छैन । रिजाल राष्ट्रिय टोलीका फरवार्ड हुन् ।
रिजाल एसियन कोटा अन्तर्गत मोहम्मेदनमा अनुबन्ध भएका हुन् । समझौता अनुसार मोहम्मेदन आई लिगमा छनोट हुन नसके र अरु आई लिग क्लबले उनलाई अफ गरेमा मोहम्ममेदनले अभिषेकलाई रिलिज गर्नेछ ।
मोहम्मेदन हाल आईलिग २ मा छ । आईलिग २ साथै मोहम्मेदनले कलकत्ता लिग पनि खेल्नेछ ।
अभिषेकले पछिल्लो पटक माल्दिभ्समा दोस्रो श्रेणीको लिग खेलेका थिए । गत वर्ष नेपालमा भएको ए डिभिजन लिगमा मछिन्द्र क्लबबाट खेलेका उनी केही खेलपछि नै माल्दिभ्स गएका थिए । उनले त्यहाँ जेजे स्पोर्ट्सका लागि खेलेका थिए ।
सन् २०१९ मा मलेसियाविरुद्ध खेल्दै नेपालको लागि डेब्यु गरेका अभिषेकले एक गोल समेत गरेका छन् । उनले गत वर्ष चाइनिज ताइपेई विरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेर खाता खोलेका थिए ।











