नेपाल प्रिमियर लिग भारतीय कम्पनीलाई ठेक्का दिने तयारी

हेटौडा न्युज
४ मंसिर २०७७, बिहीबार १५:१२
;

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यानले नेपाल प्रिमियर लिग(एनपीएल क्रिकेटको आयोजना भारतीय कम्पनीलाई दिने तयारी गरेको छ ।

क्यानको बुधबार सम्पन्न भर्चुअल साधरणसभामा एनपीएल आयोजना गर्नेबारे छलफल भएको थियो । उक्त छलफलमा क्यान पदाधिकारीको तर्फबाट एनपीएल आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनी सेभेन ३ स्पोर्टस् प्रालिलाई दिने प्रस्ताव पेश भएको हो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले भारतीय कम्पनीले प्रस्ताव गरेको स्विकार गर्दै त्यस विषयमा साधारण सभामा छलफल भएको जानकारी दिनुभयो । यसबारे निर्णय गर्ने अधिकार क्यान बोर्डलाई दिइएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रस्तावअनुसार यो कम्पनीले १० वर्षमा ४० करोड रुपैयाँ क्रिकेट संघलाई बुझाउनेछ । ४० करोड मध्ये पहिलो वर्ष साढे २ करोड रुपैयाँ उक्त कम्पनीले क्यानलाई बुझाउने प्रस्ताव छ ।

तर प्रस्तावित भारतीय कम्पनीले अहिलेसम्म ठूलो खेल प्रतियोगिता आयोजना गरेको रेकर्ड छैन । सन् २०१२ मा स्थापना भएको यो कम्पनीको चुक्तापूँजी एक करोड भारु मात्र छ ।

बारा जिल्ला क्रिकेट संघका प्रतिनिधि तथा नेपालका पूर्व कप्तान पवन अग्रवालले प्रदेश ३ अध्यक्ष राजु बस्नेत लगायतले भने एनपीएल १० वर्षका लागि ठेक्कामा दिनु घातक हुने धारणा राख्नुभएको थियो । उक्त लिग क्यानले आफैले आयोजना गर्नुपर्ने अग्रवाल बताउनु हुन्छ ।

क्यानकी पूर्व सिइओ भावना घिमिरेले पनि भारतीय कम्पनीलाई एनपिएल आयोजना गर्न दिने प्रस्तावलाई गद्दारी भएको बताउनुभएको छ । ‘एनपिएल क्यानले नै गर्नुपर्छ यसमा दुविधा भएन। तर भारतीय कम्पनीलाई दिने प्रस्ताव गद्दारी हो। हामी सक्षम छौँ, राष्ट्रिय खेलकुद परिषदको ब्रोडकास्टिङ्ग राईटसको कथा नदोहोरियोस्,’ उहाँले ट्विटरमा आफ्नो धाराणा लेख्दै भन्नुभएको छ ।

अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने देशको नाममा आयोजना हुने व्यावशायीक क्रिकेट प्रतियोगिताहरु सम्बन्धित बोर्डले आयोजना गर्ने गर्दछन् ।

यसअघि जोरा स्पोर्टस नामक कम्पनीले एनपीएल नाममा प्रतियोगिता आयोजना गरेपछि क्यानले आपत्ती जनाएको थियो। जोराले पछि नेपाल प्रिमियर लिगको नाम परिवर्तन गरि एभरेस्ट प्रिमियर लिगका रुपमा प्रतियोगिता आयोजना गरिरहेको छ।

साभारः न्युज २४ टिभी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*