पिएम कप : बागमती सेमिफाइनलमा

काठमाडौं । लुम्विनी प्रदेशसंग बराबरमा रोकिएको बागमती प्रदेश प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा लुम्बिनी प्रदेशसँग बराबरी खेलेको बागमतीले सेमिफाइनल यात्रा तय गरेको हो ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले लुम्बिनीलाई २ सय २१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ४८ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटियो ।
लुम्बिनीले ९ विकेट गुमाउँदा चाहिएको एक रन नपुग्दै दीपेन्द्र रावत रनआउट भएपछि खेल ‘टाइ’ भएको थियो । लुम्बिनीका लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले समान ४१/४१ रन बनाए ।
त्यस्तै सौरभ खनालले ३४ रन, देव खनालले २६ रन बनाए ।
बलिङतर्फ बागमती प्रदेशका लागि विपिन आचार्यले सर्वाधिक ४ विकेट लिए । त्यस्तै गौतम केसीले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निधारीत ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाउन सफल भयो ।
बागमतीका लागि आदिल खानले ८७ बलको सामना गर्दै ५५ रन बनाए भने इशान पाण्डेले ५३ बलमा ५१ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका लागि देवेन्द्र रावलले सर्वाधिक ३ विकेट लिए । त्यस्तै कृष्ण कार्की र सन्दीप सुनारले २÷२ विकेट लिए ।
बागमतीले यसअघि पुलिस, सुदूरपश्चिम र प्रदेश २ लाई हराएको थियो ।
समूह ‘बी’ को बागमतीले ४ खेलमा ७ अंक जोडेको छ । लुम्बिनी ३ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा छ ।
अब लुम्बिनीलाई सेमिफाइनल यात्रा तय गर्न पुलिस पराजित हुनुपर्नेछ ।