कुसुमको ह्याट्रिकमा विराटनगरको पहिलो जित

काठमाडौँ । राष्ट्रिय महिला लिगमा विराटनगर महानगरपालिकाले पहिलो जीत हात पारेको छ। बुधबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई हराउदै विराटनगरले जित हात पारेको हो ।
विराटनगरले चन्द्रपुरलाई ५–० को गोल अन्तरले पराजित गरेको हो।
कुसुम खतिवडाको ह्याट्रिकमा विराटनगरले जित हात पार्न सफल भएको हो । उनले खेलको १२ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि उनले ६९ औँ र ७० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
त्यस्तै विराटनगरका लागि अनु राईले ३२ औं र सरिता शेर्पाले ६३ औँ मिनेटमा गोल गरिन् ।
विराटनगरिवरुद्ध चन्द्रपुरका खेलाडीले लय समात्न नसक्दा फराकिलो हार व्यहोर्न वाध्य भएको हो ।
लिगमा विराटनगरले ४ अंक बटुलेको छ भने चन्द्रपुरको ३ अंक रहेको छ।