राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
मकवानपुुर । बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
बिहीबार बिहान हेटौंडा–५ स्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो । राष्ट्रिय सभामा कार्यकाल सकिने १९ जना सदस्य मध्ये बागमती प्रदेशका २ जना छन् । एकजना महिला र एकजना खुलातर्फका सदस्य पदमा माघ १२ गते निर्वाचन हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका १ सय ९ जना सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख गरी २ सय ३७ जनाले मतदान गर्नेछन् ।
राष्ट्रिय सभा सदस्य पदका लागि हुने निर्वाचनको मतदान केन्द्र हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको सभाकक्षलाई तोकिएको छ । यस्तै बागमती प्रदेशको निर्वाचन अधिकृतमा जिल्ला अदालत मकवानपुरका मुख्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठ नियुक्त भएका छन् ।











