वडाको सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई भएन कार्वाही

सार्वजनिक सम्पत्ति संरक्षण ऐनकै बर्खिलापमा प्रशासन मौन
हेटौडा न्युज
७ चैत्र २०७८, सोमबार १९:०३
;

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–८ को कार्यालय तोडफोडमा सङ्लग्नलाई कार्वाही गर्नुको सट्टा माफी मागेर छाडिएको घटनाप्रति सर्वसाधारणले आक्रोश ब्यक्त गरेका छन् ।

सत्तागठबन्धन दलकै कार्यकर्ता घटनामा सङ्लग्न रहेको पाईएपछि प्रहरी प्रशासनले कारवाही गर्नुको सट्टा राजनीतिक सहमतिको नाममा सहमति गराईएको थियो । वडा कार्यालयले घटनामा दोषीलाई कारवाही गर्न लिखीत निबेदननै दिएको थियो । तर प्रहरी प्रशासनले घटना सामसुम गर्न मिलापत्र गराएपनि सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कार्वाही गर्न प्रशासन चुकेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को संसोधन ऐन २०७२ अनुसार सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी वा क्षति पुर्याएमा प्रमुख जिल्ला अधिकारीले कसूरको प्रकृति हेरी १० हजार रुपैयाँ सम्म जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय र हानी नोक्सानीको बिगो निजबाट भराउन सक्ने व्यवस्था गरिएको छ । तर प्रशासनले सार्वजनिक सम्पत्तिलाई हानी नोक्सानी पुर्याउनेलाई कुनै कार्वाही गर्न सकेन ।

घटनामा सङ्लग्न भएको भन्दै नेकपा एकीकृत समाजवादी मकवानपुरका नेता बैकुण्ठ सापकोटा, नेपाली काङ्ग्रेसका अच्युतम पौडेल र सरोज श्रेष्ठ बिरुद्ध कारबाहीको माग गर्दै निबेदन परेपछि भएको सर्बदलीय बैठकमा आरोपितहरुले क्षमयाचना गर्ने सहमति भएको थियो ।

सर्बदलीय छलफलमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल, सचिव विष्णु दाहाल, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव भिम पाख्रिन, नेपाली काङ्ग्रेसका नगर सदस्य सरोज पौडेल, एमालेका नगर सचिव बोलबहादुर कार्की सहित वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठ, निमित्त प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, मकवानपुरका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङ लगाएतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*