हेटौंडाको मेयरमा पौडल र उपमेयरमा काफ्लेलाई उम्मेद्वार बनाउने एमालेको निर्णय

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट अनन्तप्रसाद पौडल र उपमेयरमा सुमित्रा काफ्लेलाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।
एमालेको शनिवार बसेको सचिवालय बैठकले पौडेल र काफ्लेलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । बैठकले मेयरमा संविधानसभा सदस्य एवम् नेकपा एमाले केन्द्रीय निर्वाचन विभाग सदस्य अनन्तप्रसाद पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । बैठकले उपमेयरमा नेकपा एमाले मकवानपुरकी सचिवालय सदस्य सुमित्रा काफ्लेलाई उम्मेद्वार बनाउने औपचारिक निर्णय गरेको छ ।
नेकपा एमालेका पूर्व नारायणी अञ्चल सचिव, पटक पटक मकवानपुरको नेतृत्व, पूर्व वागमती प्रदेश कमिटिका संगठन विभाग प्रमुख रहेका पौडेल पुराना तथा अनुभवी नेता हुन् । दोश्रो संविभानसभामा मकवानपुरबाट विजयी भएका पौडेलले संविाधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नेकपा एमालेलाई मकवानपुरमा स्थापित गर्न पौडेलको महत्वपूर्ण भूमिका रहेको छ ।
एमालेबाट उपमेयरको उम्मेद्वार बनेकी काफ्ले अनेमसंघको राजनीतिबाट एमालेको मूल राजनीतिमा स्थापित भएकी महिला नेतृ हुन् । पार्टीको राजनीतिबाहेक विभिन्न सामजिक अभियानमा समेत जोडिएकी काफ्ले हेटौँडाकी लोकप्रीय महिला नेतृमा पर्छिन् । समग्रमा हेर्दा एमालेले यो पटक पनि हेटौँडामा अनुभवी र युवाको मिश्रण गर्दै मेयर तथा उपमेयरको उम्मेद्वार चयन गरेको देखिएको छ ।