आरजुको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन थाल्यो
मकवानपुर । नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले निर्वाचन प्रचारप्रसारका क्रममा दिएको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन थालेको छ ।
काङ्ग्रेस नेतृ राणाले सुदूरपश्चिम प्रदेशका स्थानीय तह भ्रमणका क्रममा विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनले डडेल्धुरामा कुनै स्वतन्त्र उम्मेदवारको नाम लिई त्यसमा मत नदिन आग्रह गरेकी थिइन् भने काङ्ग्रेसका उम्मेदवार निर्वाचित नहुने स्थानीय तहमा बजेट कटौती हुने भन्दै विचार गर्न आग्रह गरेकी थिइन् । त्यसपछि उनले कैलालीमा निर्वाचन प्रचारप्रसारका क्रममा आफूहरुलाई सहयोग गर्ने युवाहरुमध्ये केहीलाई छानेर ‘फ्री भिसा, फ्री टिकट’मा मलेसिया रोजगारमा पठाउने आश्वासन दिएकी थिइन् ।
आयोगले यसबारे अध्ययनका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेको छ । उनी सांसद बाहेक राज्यको पदमा नरहेकाले सर्वसाधारणको हैसियतमा सोधपुछ गर्ने आयोगको तयारी छ । प्रतिनिधिसभा सदस्य–सांसदलाई निर्वाचन प्रचारप्रसारमा संलग्न हुने रोक नभए पनि आचारसंहिताले बन्देज लगाएका क्रियाकलाप गर्न पाइँदैन ।











