स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप हेटौंडामा सुरु
मकवानपुर । स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको चौथौं संस्करण –२०७९ आजबाट हेटौंडामा सुरु भएको छ ।
आज दिउँसो हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हेटौंडा उपमहानगरपालिकाका पूर्वमेयर हरि बहादुर महतले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् । आज दिउँसो सर्लाहीको बागमती युवा क्लब र सिमराको नव जनजागृति क्लब बीच उद्घाटन खेल भएको छ । प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक जिल्लाका १० ओटै स्थानीय तह र जिल्ला समन्वय समिति रहेको छ ।











