एकीकृत समाजवादीबाट मन्त्री सिफारिस भएकाहरुलाई आज शपथ ग्रहण गराउने तयारी

मकवानपुर । एकीकृत समाजवादीबाट मन्त्री सिफारिस भएकाहरुलाई आज शपथ ग्रहण गराउने तयारी भइरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजना हुने समारोहमा मन्त्रीहरुलाई शपथ ग्रहण गराउने छिन् । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषदमा आफ्नो भागमा रहेका पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको थियो । नयाँ बन्न लागेका मन्त्रीहरुमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हिरा केसी छन् ।
यसअघि स्वास्थ्य राज्यमन्त्री खापुङ मन्त्रीमा र केसी राज्यमन्त्रीमा रहने गरी एकीकृत समाजवादीले सिफारिस गरेको छ । यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा प्रेमबहादुर आले, शहरी विकासमा रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । उनीहरु सबैलाई फिर्ता बोलाइएको छ ।