बागमती प्रदेशका २६ लाख भेडाबाख्रालाई आजबाट पीपीआर खोप लगाईदै

हेटौंडा । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशका १३ जिल्लामा आजबाट पीपीआर खोप लगाउन शुरु गरेको छ । आउँदो फागुन ७ गतेसम्म प्रदेशका १३ जिल्लाका २६ लाख १३ हजार २ सय ३२ वटा भेडाबाख्रालाई खोप लगाईने मन्त्रालयले जनाएको छ ।
संघीय सशर्त अनुदानमा आएका खोपहरु प्रदेशका ५१ प्रतिशत भेडाबाख्रालाई अझै अपुग हुने भएपनि बाँकीलाई दोश्रो चरणमा खोप लगाईने छ । भेडाबाख्रालाई पीपीआर रोग लागेपछि भेडाबाख्रा मर्ने अधिक सम्भावना भएकाले रोग नै लाग्न नदिने एकमात्र उपाय रोग विरुद्धको खोप मात्रै रहेको छ ।
जिल्ला स्थित पशु स्वास्थ्य कार्यालयबाट ७ सय २५ जना पशु प्राविधिकहरुलाई खोप लगाउन गाउँगाउँमा खटाईएको छ । विश्व पशु स्वास्थ्य संगठनले आगामी सन् २०३० सम्म पीपीआर उन्मूलन गर्ने लक्ष्य लिएको छ ।