जसले ५६ औँ पटकमा लोकसेवामा नाम निकाले

हेटौडा न्युज
१ चैत्र २०७९, बुधबार १८:३३
;

हेटौंडा । अक्सर हामी जीवनमा चालेका एकरदुई वटा प्रयासमा असफलता हात लाग्नेबित्तिकै ‘डिप्रेश’ हुन्छौँ । कि त छाड्छौँ त्यो प्रयास वा मोड्छौँ जीवनको गन्तव्य । तर, एक दुई पटक होइन, ५५ औं पटकसम्म असफलता पाइरहँदा समेत प्रयास गर्न नछोडेका मनीष जोशीले ५६ औ पटकमा लोकसेवामा नाम निकालेका छन् ।

बर्दिवासमा जन्मिएमा जोशीका ६ दाजुभाइ, तीन बहिनी छन् । बुबाका दुई श्रीमती भएको कारण परिवार ठूलो थियो । कृषिमा आबद्ध परिवार, खाने मुख धेरै । विद्यालयदेखि विश्वविद्यालय तहसम्म अध्ययन गरेका उनमा सरकारी जागिर खाने रहर थियो । परिवारका कोही पनि सरकारी सेवामा थिएनन् । गाउँकै एक जना अग्रजलाई निजामती सेवामा देखेका उनीले आफु पनि निजामती सेवामै लाग्ने अठोट गरे ।

तर निजामती सेवामा लाग्न उनले पटक पटक गरि लोकसेवाको परीक्षामा ५५ पटक असफल हुन् पर्यो । २०६८ सालमा पहिलो पटक कर्मचारी सञ्चयकोषको परीक्षा दिएका उनले त्यसपछि एक पछाडि अर्को परीक्षा दिइरहे, नतिजा हात लाग्थ्यो उही असफलता । आयोगले खुलाएका र योग्यताले भ्याउने एकपछि अर्को परीक्षा दिइरहे । कतै शुरुमै असफलता हात लाग्थ्यो । कतै पहिला पत्रमा सफल हुन्थे । कुनै परीक्षामा सबै पास भएर पनि वैकल्पिकमा नाम पथ्र्यो । यो बीचमा केही निजी कम्पनीमा काम गरे, लेखापालकै रूपमा । ती ठाउँबाट काम गरेर आर्जित रकम लोकसेवा लड्नमै खर्च भयो ।

लगातार १० वर्षसम्म विभिन्न संस्थान, निकायको परीक्षा दिए । कर्मचारी सञ्चयकोष, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, वायुसेवा निगम, काठमाडौं महानगरपालिका, पर्यटन बोर्ड । कम्प्युटर अपरेटरदेखि गणक, नासु तहसम्म यस्ता कुनै विज्ञापन रहेन, जहाँ उनले आवेदन दिएर परीक्षा लडेको नहोस् । कतै प्रारम्भिक परीक्षामै असफलता हात लाग्थ्यो त कतै दोस्रो चरणमा । कतै नाम वैकल्पिकमा गएर अटाउँथ्यो ।

वर्षभरि मिहिनेत गरेको लोकसेवा परीक्षाको नतिजाको व्यग्र पर्खाइमा हुन्थे तर सदैव फेल । एकपछि अर्को असफलताले पच्छ्याउँदा, पाइलैपिच्छे असफलता मात्र हात लाग्दा आकाश नै खसेर थिचेजस्तो, टेकेको धर्ती नै भासिएजस्तो लाग्थ्यो उनलाई। अकल्पनीय, अविश्वसनीय । एकपछि अर्को असफलता झेल्दै गए । एउटा, दुइटा होइन ५५ पटक लोकसेवा अधिकृतको परीक्षामा अनुत्तीर्ण भए ।

संघीय लोकसेवा आयोगका विभिन्न ३२ वटा, प्रदेश लोकसेवा आयोगतर्फ ८ पटक अनुत्तीर्ण भए । प्राधिकरण, बैंक तथा संस्थानमा १५ पटक असफल भए । यीमध्ये केहीमा वैकल्पिकतर्फ नाम निस्कियो । कुनै परीक्षामा पहिलो पत्रमै असफल भए ।

भन्छन् नि जीवनमा सबै चिज खानु तर नखानु हरेश । हो, त्यही आशास्वरूप प्रयास गरिरहे र ५६ औं पटकको प्रयासमा प्रशासन समूह, लेखा समूहमा राप अन प्रथम श्रेणीतर्फ नाम निकाल्न जोशी सफल भए । उनले ५६ औं पटकको प्रयासमा संघतर्फ नायब सुब्बा (लेखा)तर्फ नाम निकाल्न सफल भए ।

उनी भन्छन्, ‘मेरो त एउटै सपना थियो, निजामती सेवामा प्रवेश गर्ने । निजामतीबाहेक अरुको झल्को नै नआउने ।’ उनी लडेको देख्दा हाँस्नेहरू धेरै थिए । अरु त अरु आफन्त पनि यसैमा थिए । खिसी गर्थे । यसले जीवनमा केही गर्न सक्दैन भन्थे । तर उनले ०७८/७९ मा जलेश्वरबाट नासु प्रशासन र लेखाको दुबैतर्फ लिखितमा उत्तीर्ण भए । आफ्नो क्षेत्र प्रशासन नभएका कारण लेखातर्फ काम गर्न रुचि राखे उनी सोहीअनुसार कोलेनिका सिरहामा सिफारिस समेत भइसकेको छन् ।

समाजमा औसतम मानिसहरू एक दुई प्रयासमै असफल हुन्छन् । र, प्रयास गर्न छाड्छन् ।उनी भन्छन् ‘ लक्ष्य लिएर निरन्तरको प्रयास गर्ने हो भने असम्भव भन्ने चिज केही छैन । उनी नायब सुब्बा त बने तर त्योभन्दा महत्वपूर्ण कुरा – यो क्रममा रूपान्तरित मान्छे पनि बने । जीवनलाई हेर्ने दृष्टिकोण बदले । आफ्ना कमीकमजोरी पनि स्विकार्न सिके । आफ्नो अपूर्णतामा पनि रमाउन थाले । भनिन्छ नि जीवनमा तपार्ईंं संघर्ष गर्दै गर्दा कहिल्यै आत्तिनु हुँदैन किनकि संघर्षको बखत मात्र मान्छे एक्लो हुन्छ, सफलता पाएपछि सारा संसार साथमा हुन्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*