काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको भेला हेटौंडामा हुँदै

मकवानपुर । नेपाली काँग्रेसले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भेला हुने भएको छ । कांग्रेसको स्थानीय तह समन्वय केन्द्रीय विभागले स्थानीय तहका जनप्रतिनिधि र उम्मेदवारहरुसँग अन्तरसंवाद गर्ने कार्यक्रम मकवानपुरबाट शुरु गर्ने भएको हो । कार्यक्रम आगामी भाद्र ३० गते हेटौंडामा हुने पार्टीले आज गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख उपस्थितिमा हुने भेलामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले साढे २ वर्षमा गरेका मुख्य कामहरु, समस्या र समाधानका उपायसहित पार्टीले चुनावी घोषणापत्रको कार्यान्वयनको विषयमा छलफल गरिने नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पत्रकारहरुलाई जानकारी दिएका थिए । भेलामा निर्वाचनमा भाग लिएका उम्मेदवारहरुसमेत सहभागी हुने भएका छन् ।
गत २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट मकवानपुरमा ५ वटा स्थानीय तहमा प्रमुख, ४ वटामा उपप्रमुख र ४४ जना वडाध्यक्षमा निर्वाचित भएका छन् । स्थानीय तहका जनप्रतिनिधि र प्रदेश र केन्द्रसँगको समन्वय, जनप्रतिनिधि र पार्टीबीचको समन्वय र सहकार्यको विषयमा पनि छलफल हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । मकवानपुरबाट शुरु हुने भेला यस पछि मधेश प्रदेशका विभिन्न जिल्लामा हुने छ ।