रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनी लायन्सको पहिलो जीत

बोसिस्टो एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी
हेटौडा न्युज
२५ मंसिर २०८१, मंगलवार १६:२२
;

मकवानपुर/सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा मंगलबार लुम्बिनी लायन्सले पहिलो जीत दर्ता गराउँदा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । लगातार चार खेलमा पराजित लुम्बिनीले कप्तान रोहितकुमार पौडेलको अलराउन्डर प्रदर्शनमा चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जित दर्ता गराएको हो ।

मंगलबारको पहिलो खेलमा लुम्बिनीले दिएको १६८ रन पछ्याएको चितवनले २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो।

लुम्बिनीका लागि कप्तान पौडेलले मात्र १७ रन खर्चेर ४ विकेट लिए । यस्तै रेमन्ड सिमन्सले २, साद बिन जफर र अभिसेष गौतमले १-१ विकेट लिन सफल भए ।

त्यसअघि टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन जोडेको थियो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडैल र साद बिन जफरले अर्धशतक प्रहार गरे। रिजन ढकालको बलमा क्याच हुनुअघि रोहितले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रन जोडे ।

बलिङमा चितवनका रिजन ढकालले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए ।

प्रतियोगितामा कर्णाली याक्सले पोखरा एभेन्जर्समाथि ७ विकेटको सहज जित निकालेको छ । पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । कर्णालीको जितमा गुल्सन झाले नटआउट ४९ रन जोडे भने चाडविक वाल्टनले ३४ बलमा ४२ रन जोडे।

मंगलबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि  १६.४ ओभरमै अलआउट हुन पुग्यो । बोसिस्टो जारी एनपिएलको एकै इनिङ्ग्समा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*