पौष २८ बाट शुरु भएको ‘थाहा फिल्म फेस्टिभल’ हिजोबाट सकियो

हेटौडा न्युज
२ माघ २०८१, बुधबार १३:०६
;

मकवानपुर । गत पौष २८ गतेबाट शुरु भएको दोश्रो थाहा फिल्म फेष्टिभल हिजोबाट सकिएको छ । जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका वडा नम्बर–६ बज्रबाराहीमा सञ्चालन भएको थियो । थाहा कला केन्द्रको आयोजनामा भएको फिल्म महोत्सवमा सर्ट फिल्म छेसाङ, द रूप अफ होप र फिचर फिल्महरू पखेटा, बाटो लगातको प्रदर्शनी गरिएको थियो । दर्शकको उल्लेख्य सहभागितामा भएको फेष्टिभलमा नेपाली फिल्मको विविधता, थाहामा मिनी फिल्म सिटी किन ? र फिल्म समिक्षाको आवश्यकता शीर्षकमा चलचित्र निर्देशक सुलक्षण भारती र कलाकार नवीन न्यौपानेसहित चलचित्र पत्रकार, नेपाली चलचित्रसँग सम्बन्धित संघसंस्थाहरको प्रतिनिधिहरुको अन्तक्र्रिया गरिएको थियो । थाहा नगरभित्रका धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरु फिल्म छायाङ्कनका लागि सम्भावनाको विषयमा सामूहिक छलफल समेत गरिएको थियो ।

फेष्टिभलको समापन गर्दै थाहानगरपालिकाका उपप्रमुख भरत गोपालीले नगरपालिकाले आफ्नो कार्य योजनामै फिल्म छायाङ्कनको लागि आवश्यक पूर्वाधार निर्माण, मिनी फिल्म सिटीको अवधारणालाई मूर्तरुप दिन लागेकाले फिल्म फेष्टिभल जस्ता कार्यक्रमले पालिकाको काममा सघाऊ पुर्याउने धारणा व्यक्त गरेका थिए । थाहा नगरपालिकासहित छिमेकी पालिकासमेटिने गरी मिनी फिल्म सिटीको अवधारणालाई मूर्त रुप दिन स्थानीय सरकारहरुले समेत चासो देखाएको सन्दर्भमा फिल्म निर्माता, निर्देशकहरुको सहभागितालाई सकारात्मक रुपमा लिईएको छ । फेष्टिभल आयोजक थाहा कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले थाहा नगरसहित छिमेकी पालिकाहरु समेटेर यस क्षेत्रको समग्र विकासमा सहयोग पुर्याउने उद्देश्यले फेष्टिभलको आयोजना गरिएको बताएका छन् ।

फेष्टिभलका संयोजक प्रमोदकृष्ण जोशीले फेस्टिभल अवधिभर सर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी २१ फिल्म प्रदर्शनी भएको जानकारी दिएका छन् । फेष्टिभलमा थाहा नगरको पर्यटन विकासमा सघाऊ पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । पौष २८ गते मकवानपुरको विषयवस्तु समेटिएको वृत्तचित्र “यो जिन्दगी खै के जिन्दगी” प्ले गरी नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले फेष्टिभलको शुभारम्भ गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*