लटरम्बेश्वरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदै

मकवानपुर । भीमफेदी–८ मा रहेको लटरम्बेश्वर मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस गरिने भएको छ । प्रत्येक वर्ष बैशाख १ र माघ १ गते लाग्ने यस क्षेत्रमा यस वर्ष पनि दर्शनार्थीहरको घुईंचो लागेको थियो । मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकाको सिमानामा पर्ने महादेवटार माथि डब्लु डाँडामा रहेको लटरम्बेश्वर मन्दिर परिसर रहेको छ ।
पछिल्लो समय दर्शनार्थी तथा भक्तजनहरुको बाक्लो उपस्थिति भएपछि यस क्षेको विकास गर्न पालिकाले आफ्नो बार्षिक कार्य रणनीति तयार गरेको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताएका छन् । अध्यक्ष लामाले लटरम्बेश्वर मन्दिरलाई भीमफेदी गाउँपालिकाले प्रमुख धार्मिक केन्द्रको रूपमा राखेर संरक्षण र प्रचारप्रसारमा लागेको बताएका छन् । हिन्दु धार्मिक ग्रन्थ अनुसार महादेवले सतिदेवीको मृत शरीरलाई बोकेर हिँड्दा यस पवित्र स्थलमा आइपुग्दा सतीदेवीको लट्टा पतन भएर लटरम्बेश्वर महादेवको उत्पत्ति भएको किंवदन्ती रहेको अध्यक्ष लामाको भनाई थियो ।
भीमफेदी गाउँपालिका वडा नम्बर–८ मा पर्ने यो क्षेत्र पुग्न हेटौंडाबाट चौघडा, चुचेखोला, ठिङ्गन हुँदै जान सकिन्छ भने काठमाडौंबाट सातदोबाटो, चापागाउँ, टीकाभैरव, छपेली, बगुवा हुँदै महादेवटारबाट पनि पुग्न सकिन्छ । मन्दिर क्षेत्रमा आउन निक्कै कठिन, घाँसको जरामा टेकेर आउनुपर्ने बाध्यता हट्दै गएको र अहिले सो मन्दिर पुग्न कच्ची बाटो, खानेपानी, बिजुली लगायतका सुविधाहरु पुगेको वडा नम्बर–८ का अध्यक्ष विष्णु बहादुर लामाले बताएका छन् । यस बर्षको मेलाको व्यवस्थापन साङ्ग शान्ति युवा क्लबले गरेको थियो ।