अदालतको आदेशपछि हेटौँडामा रोकियो फोहोर सङ्कलन

हेटौडा न्युज
२४ माघ २०८१, बिहीबार ०८:३६
;

मकवानपुर/हेटौँडा उपमहानगरपालिकामा बिहीबारदेखि नियमित हुँदै आएको फोहोर सङ्कलन र व्यवस्थापन कार्य रोकिएको छ । मङ्गलबार उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा अर्को आदेश नभए सम्मका लागि फोहोर नफाल्न उपमहानगरपालिकाका नाममा निषेधाज्ञा जारी गरेपछि फोहोर सङ्कलन तथा व्यवस्थापन स्थगित भएको हो ।
हेटौँडा उपमहानगरपालिका कार्यालयले बिहीबार सूचना जारी गर्दै अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहोर सङ्कलन स्थगन गरिएको उल्लेख गरेको छ । उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले अदालतले राप्ती तटमा फोहोर नफाल्न आदेश जारी गरेको र उपमहानगरपालिकासँग अर्को वैकल्पिक स्थान नभएकोले फोहोर उठाउन रोक्नुको विकल्प नभएको बताए ।
दुईसाता अघि राप्ती तटमा रहेको फोहोर सङ्कलन तथा व्यवस्थापन केन्द्रमा आगलागी भएपछि प्रदुषण फैलिएको भन्दै निवेदक योगेन्द्रप्रसाद उपाध्यायले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । सोको सुनुवाइ गर्दै न्यायाधीश डा. निर्मला पौडेल भट्टराईको एकल इजलासले मङ्गलबार राप्ती तटमा फोहोर नफाल्नू, फाल्न नलगाउनू भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियोे ।
आदेशमा सो अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने सम्बन्धमा दुवै पक्षको उपस्थितिमा छलफल गराई निष्कर्षमा पुग्नु उपयुक्त हुने भन्दै माघ २९ गतेका लागि पेशी तोकिएको छ ।
प्रवक्ता न्यौपानेले अदालतको आदेशपछि फोहोर उठाउँदा आदेशको अवहेलना हुने भएकोले तत्कालका लागि फोहोर उठाउन रोकिएको बताए । फोहोर व्यवस्थापनका लागि अन्य ठाउँको विषयमा छलफल भइरहे पनि उपयुक्त स्थान फेला नपरेकाले तत्कालका लागि अर्को व्यवस्था नहुँदासम्म फोहोरलाई घरमै व्यवस्थापन गर्न उनलेे नगरबासीलाई अनुरोध गरेका छन् ।
वि. सं. २०२६ सालमा तत्कालीन हेटौँडा नगर पञ्चायतको पहिलो बैठकबाट ‘राप्ती तटमा गन्दा फ्याँक्ने’ निर्णय भएसँगै हेटौँडा नगर क्षेत्रको फोहोर ५५ वर्षदेखि सो क्षेत्रमा व्यवस्थापन हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*