हेटौँडा अस्पतालमा स्वास्थ्य बिमाका बिरामीले एक हप्तासम्म पुनः दर्ता गर्नु नपर्ने

मकवानपुर/हेटौँडा अस्पतालले स्वास्थ्य बिमा अन्तर्गतका बिरामीहरूले दिनैपिच्छे पुर्जा दर्ता गर्नुपर्ने झन्झटिलो प्रावधानलाई हटाएको छ । स्वास्थ्य बिमा सेवा अन्तर्गत बहिरङ्ग विभाग (ओपीडी) मा आउने बिरामीहरूले प्रत्येक दिन बिरामी पुर्जा दर्ता गर्नुपर्ने व्यवस्था रहेकोमा अस्पतालले मङ्गलबारदेखि एक पटक दर्ता भइसकेपछि एक सातासम्म पुनः दर्ता नगरी फलोअप गर्न सक्ने व्यवस्था गरेको छ ।
सोमबार एक सुचना जारी गर्दै अस्पतालले मङ्गलबारदेखि लागू हुने गरी दर्ता भएको मितिले ७ दिनसम्म पुनः दर्ताको लाइन नबसी सेवाहरूको बिलिङ तथा औषधी लिन सक्ने व्यवस्था गरिएको जानकारी गराएको छ । यसका लागि प्रत्येक दिन डाक्टर भेटिसकेपछि सम्बन्धित डाक्टरले प्रयोगशाला परीक्षण तथा औषधीका लागि अनिवार्य रुपमा छाप लगाएको हुनुपर्ने अस्पताल प्रशासनले उल्लेख गरेको छ ।
अघिल्लो दिनभन्दा फरक विभागमा परीक्षण गराउनुपर्ने अवस्थामा भने पुनः दर्ता अनिवार्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।
प्रत्येक दिन नयाँ बिरामी जस्तै पुनः दर्ता गर्नुपर्ने प्रावधानका कारण अस्पतालको टिकट काउन्टरमा अनावश्यक भीड लाग्ने गरेको थियो । अस्पतालले पछिल्लो समय अनलाइन मार्फत बिरामीहरूले घरैबाट उपचारका लागि नाम दर्ता गराउन सक्ने व्यवस्था गरे पनि सो सेवा भने प्रभावकारी हुन सकेको छैन । हेटौँडा अस्पतालमा सेवा लिन अनलाइन मार्फत अघिल्लो दिन राती १२ बजेभन्दा अगाडी नाम दर्ता गरेका बिरामीहरूले काउन्टरमा लाइन नबसी सहजै टिकट पाउन सक्ने व्यवस्था रहेको छ ।
पछिल्लो समय अस्पतालमा दैनिक औसत १ हजार १ सय बिरामीले बहिरङ्ग सेवा लिँदै आएका छन् ।