पाँच दिनपछि उठ्न थाल्यो हेटौँडाको फोहोर

मकवानपुर/हेटौँडा उपमहानगरपालिकाले पाँच दिनदेखि नगरक्षेत्रमा थुप्रिएको फोहोर उठाउन सुरु गरेको छ । अदालतबाट राप्ती नदी तटमा अर्को आदेश नभए सम्मका लागि फोहोर नफाल्न उपमहानगरपालिकाका नाममा अल्पकालिन आदेश जारी भएपछि उपमहानगरपालिकाले गत बिहीबारदेखि फोहोर उठाउन बन्द गरेको थियो ।
मङ्गलबार उच्च अदालत पाटन, हेटौँडा इजलासले उपमहानगरपालिका विरुद्ध परेको निषेधाज्ञाको मुद्दा खारेज गरेपछि अपरान्हदेखि नगर क्षेत्रको फोहोर सङ्कलन सुरु गरिएको सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिए । यसअघि राप्ती तटमा फोहोर नफाल्न अल्पकालिन आदेश जारी भएसँगै उपमहानगरपालिकासँग अर्को वैकल्पिक स्थान नभएको भन्दै फोहोर उठाउन रोकिएको थियो ।
राप्ती तटमा रहेको फोहोर सङ्कलन तथा व्यवस्थापन केन्द्रमा आगलागी भएपछि प्रदुषण फैलिएको भन्दै निवेदक योगेन्द्रप्रसाद उपाध्यायले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने सम्बन्धमा मङ्गलबार दुवै पक्षको उपस्थितिमा सुनुवाईपछि मुद्दा खारेज भएको हो ।