हेटौँडा उपमहानगरपालिका बालमैत्री घोषित

हेटौडा न्युज
१ फाल्गुन २०८१, बिहीबार १६:१३
;

हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको छ । बिहीबार हेटौँडामा एक समारोहका बीच नेपाल सरकारका उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले हेटौँडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरेका हुन् ।

झन्डै तीन वर्षको गृहकार्य पश्चात हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिएको हो । हेटौँडाको पिप्ले क्याम्पा रङ्गशालामा आयोजित घोषणा सभामा नगरका सबै सरकारी निकाय, विद्यालय, सामुदायिक संघसंस्था लगायतको सहभागिता रहेको थियो । शहरका विभिन्न भागबाट निस्किएको प्रभातफेरि सहितको र्‍यालीले नगर परिक्रमा गर्दै रङ्गशालामा पुगेको थियो ।

हेटौँडाको पिप्ले क्याम्पा रङ्गशालामा बालमैत्री घोषणा सभाका सहभागीहरू

बालमैत्री घोषणाका लागि आवश्यक ५१ मध्ये ४३ वटा सूचकमा शतप्रतिशत र अन्य सूचकमा आवश्यक नतिजा हासिल गर्दै घोषणाको अवस्थामा आइपुगेको उपमहानगरपालिकाले दाबी गरेको छ ।

बागमती प्रदेशमा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुने हेटौँडा दशौँ पालिका हो । मकवानपुरका १० पालिकामध्ये मनहरी गाउँपालिका, बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिका यसअघि नै बालमैत्री घोषणा भैसकेका छन् ।

बालमैत्री घोषणाको विभिन्न चरणमा उपमहानगरपालिकाका १९ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएका थिए । यस क्रममा २६५ वटा टोलस्तरीय र १०६ वटा विद्यालयस्तरीय गरी ३७१ बाल समूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय बाल समूह सञ्जाल उपमहानगरपालिकाभित्र क्रियाशील रहेका छन् । घरधुरी तथाङ्क सङ्कलन सर्वेक्षण, २०७९ का अनुसार हेटौँडा उपमहानगरपालिकामा १८ वर्ष मुनिका बालबालिकाको सङ्ख्या ५० हजार १९५ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*