गोरु तस्करीमा प्रहरीकै मिलेमतो, जिल्लामा तानिए रातोमाटे चौकी इन्चार्ज

हेटौडा न्युज
५ फाल्गुन २०८१, सोमबार १६:४६
;

मकवानपुर/तस्करीको गोरुसहितको ट्रक स्कर्टिङ गरि जिल्ला नाका कटाएको आरोप लागेका मकवानपुरको रातोमाटे प्रहरी चौकीका इन्चार्जमाथि जिल्ला प्रहरी कार्यालय मकवानपुरले छानबिन थालेको छ । आइतबार साँझ रातोमाटे प्रहरी चौकीको मिलेमतोमा २५ वटा गोरुसहितको ट्रकलाई पथलैया पुर्याइएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख ब्रज किशोर ठाकुरले आरोप लगाएका थिए ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयालसहित सो समयमा ड्युटीमा रहेका प्रहरीहरूलाई जिल्लामा बोलाई छानबिन सुरु गरिएको जानकारी दिए । गोरुको अवैध ओसारपसारमा उनीहरूको मिलेमतो देखिए विभागीय कारबाही अघि बढ्ने प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

हेटौँडाबाट अवैध रुपमा ओसारपसार हुँदै गरेको २५ वटा गोरुसहितको ट्रकलाई सशस्त्र प्रहरीको सहयोगमा पथलैयाबाट नियन्त्रणमा लिइएको थियो ।

घटनाका बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख ब्रज किशोर ठाकुरले स्थानीय प्रहरीको असहयोगका कारण गोरु सहितको ट्रकले जिल्लाको नाका पार गरेको आरोप लगाएका हुन् । उनले प्रहरीले नै मोटरसाइकलबाट स्कर्टिङ गरेर ट्रकलाई मकवानपुरको सीमा पार गराएको दाबी गरे ।

जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख ब्रज किशोर ठाकुर

आइतबार साँझ विशेष सूचनाका आधारमा ट्रकलाई रातोमाटेमै नियन्त्रणमा लिन खोजिएको थियो । तर स्थानीय प्रहरीको असहयोगका कारण ट्रक मकवानपुरको नाका पार गर्न सफल भएको थियो । २५ वटा गोरु लोड गरिएको बा.प्र.०३-००१ ख १४२४ नम्बरको ट्रकलाई प्रहरीले सामान्य जाँच गरेर छाडेपछि ठाकुर सशस्त्र प्रहरी राजमार्ग सुरक्षा पोस्ट गुहार्न पुगेका थिए ।

सशस्त्र प्रहरी १४ नम्बर हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहसँगको समन्वयमा पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा खटिएका सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएका थिए ।

छानबिनका क्रममा गोरु ओसारपसारका लागि आवश्यक भेटेरिनरी प्रमाणपत्र नक्कली भेटिएको ठाकुरले जानकारी दिए । प्राप्त प्रमाणपत्रमा आबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्स, हेटौँडा १६ मार्फत झापाको हेमादेवी सप्लायर्स लाई गोरु विक्री गरेको उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*