विद्यार्थीको परामर्शका लागि दुई नेपाली अधिकारी उडिसामा

नेपाली विद्यार्थीका पक्षमा आवश्यक कदम चाल्न तयार: भारतीय दुतावास
हेटौडा न्युज
५ फाल्गुन २०८१, सोमबार २२:२०
;

भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको रहस्यमय मृत्युपछि उत्पन्न तनावका बीच भारतस्थित नेपाली दुतावासले दुई अधिकारीलाई उडिसा पठाएको छ ।
सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्लीस्थित नेपाली दूतावासले ओडिशामा प्रभावित नेपाली विद्यार्थीहरूलाई परामर्श दिन दुई अधिकारीहरूलाई पठाएको जनाएका हुन् ।
केआईआईटी विश्वविद्यालयको होस्टलमा एक नेपाली छात्रा रुपन्देहीको प्रकृति लम्सालले आत्महत्या गरेको भनिए पनि नेपाली विद्यार्थीहरूले यसलाई रहस्यमय भनेका छन् । लम्सालको मृत्युपछि कलेजमा नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच, नेपालस्थित भारतीय दूतावासले केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको पक्षमा आवश्यक कदम चाल्न तत्पर रहेको जनाएको छ ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू दुवै देशबिचको जन सम्बन्धको महत्त्वपूर्ण पक्ष भएको जनाएको छ ।
विज्ञप्तिमा ओडिशाको केआईआईटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दै स्थानीय अधिकारीहरूले यस घटनाको अनुसन्धान सुरु गरिसकेको जानकारी गराएको छ ।
यस्तै केआईआईटीले नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र होस्टेलमै बस्न आग्रह गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*