मकवानपुरगढीमा इभी दुर्घटना, २ जनाको मृत्यु, १४ घाइते

मकवानपुर/कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी गाउँपालिका २, धरमपानीमा विद्युतीय सवारी (इभी) दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान १ बजे भएको दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।
काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा. प्र. ०१-००६ ख ७०७२ नम्बरको यात्रुबाहक गाडी सडकबाट २ सय मिटर तल खसेको थियो । दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएकामध्ये रौतहट भवानी नगरपालिका ५ बस्ने ५० वर्षिया निलम देवी राउतको उपचारका क्रममा मृत्यु भएको हो । यस्तै सर्लाहीको बागमती गाउँपालिका ७ कि १३ वर्षिया मानुषि मगरको शव शुक्रबार बिहान दुर्घटनास्थल नजिक खोल्सामा फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको इभीमा चालकसहित १६ जना सवार रहेका थिए ।
घाइतेमध्ये रौतहट दुर्गाभवानिपुरका बर्ष ५५ का राम प्रकाश राउत, सर्लाही बरहथहवा ८ बस्ने ५२ वर्षिय शिवशंकर राय, उनकी श्रीमती रिकिदेवी राय र बरहथवा ९ का २७ वर्षिय मनोज रायको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, सर्लाही हरिहरपुर १ का २७ वर्षका नवराज मगर, १६ वर्षिया प्रियंका मगर, १५ वर्षिय सृजन मगर, ४० वर्षकी जमुना मगर, १९ वर्षिय सुदिप रिसाल, विष्णुपुर गाउँपालिका ३ का २७ वर्षिय देवराज कुमार साह, ४२ वर्षिय किसुनवर्ती साह, बागमती गाउँपालिका ७ कि १६ वर्षिया युनिका दर्लामी मगर र महोत्तरीको गौशाला ५ का १६ वर्षिय आदित्य छोरचंगी मगरको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।