थाहामा बसको ठक्‍करबाट ३ जनाको मृत्यु

ब्रेक फेल भएको बस उपमेयरको घरमा ठोक्‍कियो
हेटौडा न्युज
१३ जेष्ठ २०८२, सोमबार २२:२५
;

मकवानपुर/मकवानपुरको थाहा नगरपालिकामा बसको ठक्‍करबाट ३ जनाको मृत्यु भएको छ । सोमबार साँझ गोपाली गाउँबाट          थानाबजारतर्फ जाँदै गरेको बा.३ ख. ५९९० नम्बरको बसको ठक्‍करबाट २ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

ब्रेक फेल भई अनियन्त्रित भएको बसले त्रिभुवन राजपथअन्तर्गत थापा नगरपालिका ३ स्कुल चोकमा सडकमा हिंडिरहेका पैदलयात्रुलाई ठक्‍कर दिएर सोही नगरपालिकाका उपमेयर भरत गोपालीको घरमा ठोक्‍किएको थियो ।

बसको ठक्‍करबाट थाहा नगरपालिका ९ का कृष्ण बलामी र सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका ५ घर भई हाल झम्केश्वरी मावि, थाहामा कार्यरत शिक्षक लोकेन्द्र कुमार ठाकुरको मृत्यु भएको हो । यस्तै दुर्घटनामा गम्भीर घाइते झम्केश्वरी माविकै शिक्षक रघुनन्दन यादवको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

बसको ठक्‍करबाट मालपोत कार्यालय शिखरकोटमा कार्यरत कमलेश कुमार शाह समेत गम्भीर घाइते भएका छन् । यस्तै झम्केश्वरी माविकै शिक्षक राम गुलाम चौधरी र बाराको जितपुर उपमहानगरपालिका १७ बस्ने छेवाङ दोर्जे लामा घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक थाहा नगरपालिका ५, बसन्त बस्ने राजेश कार्कीलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*