यातायात व्यवसायीले भोलि जेठ १९ गतेबाट भाडाका सवारी बन्द गर्ने (भिडियोसहित)
मकवानपुर । प्रदेश सरकारहरुले रातोप्लेट (निजी) का सवारी साधनले पनि भाडाका (कालो) सवारी साधन सो सरह सञ्चालन गर्न पाउने ऐनको विरोधमा भोलि जेष्ठ १९ गतेबाट देशै भरका सार्वजनिक भाडाका सवारी साधनहरु बन्द गर्ने भएको छ । हेटौंडामा आज आयोजित पत्रकार सम्मेलनमा सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ र दफा १२ को १ विपरित गर्न लागिएको ऐनको विरोधमा आफ्ना सवारी साधन घर, ग्यारेजमा थन्क्याउन लागिएको जनाईएको छ ।
पछिल्लो समय गण्डकी प्रदेशले निजी सवारी साधनले भाडाका सवारी साधन सो सरह सञ्चालन गर्ने ऐन कार्यान्वयनमा ल्याएको छ भने, सो ऐन देशका सबै प्रदेशले कार्यान्वयनमा ल्याउन गृहकार्य गरिरहेका छन् । सरकारले आफूहरुसँग निजीको तुलनामा बढी कर पनि असुल्ने, रोड पर्मिट, पटके कर लगायतका शुल्क लिएर २० बर्ष पछि चलाउन समेत बन्देज लगाईएको सार्वजनिक सवारीको तुलनामा सवारी करबाहेक कुनै पनि शुल्क नलाग्ने रातो प्लेटका सवारी साधनाई भाडामा सञ्चालन गर्न दिने निर्णयको विरोध गरिएको पत्रकार सम्मेलनमा बताईएको छ ।
सार्वजनिक सवारी साधन सञ्चालकहरुले सरकारसँग लामो समयदेखि भारबहन क्षमता भन्दा बढीका सवारी निर्वाध चल्न दिएको, योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू नगरेको, अधिकार सम्पन्न प्राधिकरण गठन नभएको, छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्दा भन्सार नाकामै असमान नीतिको ७२ घण्टे प्रवेश सुविधा पाउने गरेको लगायतका विषयमा सरकारसँग पटकपटक छलफल गर्दा पनि कार्यान्वयन नगरेको समेत पत्रकार सम्मेलमा जानकारी दिईएको थियो । सार्वजनिक यातायात व्यावसायी तथा मजदूरहरुले आफ्ना मागहरु सम्बोधन नभए अनिश्चित कालसम्म सवारी साधन सञ्चालन नगर्ने बताईएको छ । पत्रकार सम्मेलन सार्वजनिक यातायात क्षेत्रका महासंघ, ढुवानी महासंघ, यातायात क्षेत्रका मजदूर, कर्मचारी आवद्ध संघ संगठनहरुको संयुक्त आयोजनामा भएको थियो ।
(भिडियो)











