नवलपुरको हर्कपुरमा हरियाली अभियान
चितवन । नवलपुरको हर्कपुरमा अवस्थित इला कम्फर्ट होटलले स्वच्छता तथा हरियाली अभियान अन्तर्गत सरसफाई कार्यक्रम गरेको छ । गैंडाकोट नगरपालिका – १२, हर्कपुरमा रहेको इला कम्फर्ट होटलले पूर्व पश्चिम राजमार्गको डिभाइडर तथा सडक दायाँबायाँ रहेको घाँस, झाडी, बुट्यान काटेर सफा गर्नुका साथै सडकमा भएका प्लास्टिकजन्य सामग्री तथा अन्य फोहोर टिपेर सरसफाई गरेको थियो । हर्कपुरमा भर्खरै आफ्नो सेवा शुभारम्भ गरेको इला कम्फर्ट होटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यमा सरसफाई कार्यक्रम गरेको होटलका महाप्रबन्धक प्रदीप न्यौपानेले जानकारी दिएका छन् ।
नेपालको आफ्नै मौलिक ब्राण्ड इलाले देशका विभिन्न क्षेत्रमा पर्यटकीय साथै आतिथ्य सत्कार सम्बन्धि आयोजनाहरु संचालन गरी पर्यटकीय गन्तव्य र नेपाली परिकारहरुलाई प्रवर्धन गर्ने लक्ष्य राखेको इला होटल एण्ड रिसोर्टका सञ्चालक सचिन ढकालको भनाई थियो । हर्कपुर स्थित इला कम्फर्टमा ठूलो क्षेत्रफलमा वाटर पार्क रहेको छ भने आवासका लागि सुविधासम्पन्न ३५ वटा कोठाहरु रहेका छन् । नेपालकै व्यापारिक घराना आइएमई समूहको यस होटलले आफ्ना सेवा मार्फत देशको आर्थिक विकासमा टेवा पुर्याउने र आन्तरिक तथा विदेशी पर्यटकलाई नेपाली पहिचानसहितको सेवामार्फत आकर्षित गर्न सकेमा नेपालको विकासमा कोशेढुङ्गा हुने विश्वास लिएको जनाएको छ । हर्कपुरमा सेवा शुभारम्भ गरेको इला कम्फर्ट इला ब्राण्डको तेस्रो आउटलेट हो । यसअघि बाग्लुङ्गमा इला कम्फर्ट र गैंडाकोटको मौलाकाली डाँडामा इला रिसोर्ट मौलाकाली सञ्चालनमा आइसकेका छन् ।












