हेटौंडा सडक विस्तारः १६ मिटर प्रस्ताव कुलमानद्वारा अस्वीकार
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटसहितको टोलीले हेटौंडा बजार क्षेत्रको सडक १६ मिटर कायम गर्न राखेको प्रस्ताव भौतिक मन्त्री कुलमान घिसिङले अस्वीकार गरेका छन् । संघका पदाधिकारी, महासंघका उपाध्यक्षसहित प्रभावित घरधनी, व्यवसायी र पीडित पक्षहरुको समूहले हिजो मन्त्री घिसिङलाई लिखित रुपमा आफ्ना मागहरु राखेका थिए । संघले हेटौंडा बजार क्षेत्रमा दायाँबायाँ १६/१६ मिटर कायम गरेमा क्षतिपूर्ति नचाहिने तर त्यो भन्दा बढी क्षेत्र अधिग्रहण गर्ने भए क्षतिपूर्ति, मुआब्जा पाउनु पर्ने माग राखेको थियो ।
संघको माग प्रति मन्त्री घिसिङले सर्वोच्च अदालतले गरेको निर्णय, आदेश सरकारले पालना गर्नुपर्ने भएकोले संघको माग पूरा गर्न नसकिने जवाफ दिएको संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले बताएका छन् । अध्यक्ष रानाभाटले हेटौंडा न्युजसँगको सम्वादमा घरधनी, व्यवसायीहरुको पक्षका लागि आफूहरुको प्रयास आज पनि जारी रहेको र आफ्ना माग पूरा गराउन अन्तिमसम्म प्रयास गर्ने बताएका छन् । सडक विभागले हेटौंडा बजार क्षेत्रमा सडकको केन्द्रबाट दायाँबायाँ २५/२५ गज (करीब ७५ फिट) सडक चौडाई बनाउने गरी गत मंसिर ५ गते १५ दिने घरटहरा हटाउन सार्वजनिक सूचना प्रकाशित प्रकाशित गरिसकेको छ ।











