हेटौंडा सडक विस्तार शुक्रबारसम्मलाई रोकियो

हेटौडा न्युज
२२ मंसिर २०८२, आईतवार १६:५८
;

हेटौंडा । हिजो शनिबारबाट शुरु भएको हेटौंडा बजारको सडक विस्तार कार्य मङ्सीर २६ गते सम्मको लागि स्थगन भएको छ । सर्वोच्च अदालतले गत मङ्सीर ५ गते गरिएको सूचना र सो सूचनाको आधारमा गरिएको सडक विस्तार कार्यको सन्दर्भमा अल्पकालिन आदेश दिएकाले २६ गतेसम्मको लागि स्थगन गरिएको हो ।

सडक डिभिजन कार्यालयले सर्वोच्च अदालतकै २०८० पुष १७ गतेको न्यायाधिश सुनिलकुमार पोखरेलको आदेशले सडकको दायाँबायाँ २५÷२५ गज सडक सीमा रहेको व्याख्या अनुरुप हिजोबाट सडक विस्तार कार्य अघि बढाएको थियो ।
तर सडक विभागको सूचना उपर गत मङ्सीर १६ गते दायर गरेको रिटमाथि गत मङ्सीर १९ गते शुक्रबार अल्पकालीन अन्तरिम आदेश दिदै २६ गते दुबै पक्षलाई छलफलमा बोलाएको थियो । तर शुक्रबारको आदेश आईतबार मात्रै आधिकारिक रुपमा आएकाले हिजो शनिबार सडक विस्तार कार्य भएको थियो ।

अदालतको आदेशको पत्र आज आईतबार १२ बजेर ४६ मिनेटमा सडक डिभिजन हेटौंडामा म्याद तामेल दर्ता भएपछि विस्तारको कार्य स्थगन गरिएको हो । हिजो शनिबार करीब ७ किलोमिटर क्षेत्रमा घरटहरा भत्काउने कार्य भएको थियो । तथ्याङ्क अनुसार हेटौंडा बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रमा ५३१ घरटहरा २५ गजभित्र निर्माण भएका छन् । घरधनीहरुले घरटहरा हटाउने भए मुआब्जा क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*