ए डिभिजन लिगः मनाङको अपराजित यात्रालाई कायमै, ब्रिगेड ब्वाइज एक शून्यले पराजित
मनाङ मर्स्याङदीले शहीद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
लगातार तीन खेलमा जित निकाल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो । यो जित संगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
आज बिहिबार सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई एक शून्यले हराएर लिगको शीर्ष स्थान कव्जा गरेको हो । मनाङको जितमा जगजित श्रेष्ठले २५ औंँ मिनेट गरेकोे एकमात्र गोल निर्णायक बन्यो ।
पहिलो हाफमा एक शून्यको अग्रता बनाएको मनाङले दोस्रो हाफमा पनि ब्रिगेड ब्वाइजलाई दबाब दियो तर गोल थप्न सकेन ।
७४ औंँ मिनेटमा मनाङ १० खेलाडीमा सिमित हुन पुग्यो । मनाङका एकराज बुढाथोकीले ब्रिगेड ब्वाइजका खेलाडीलाई डरलाग्दो फल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।
त्यसपछि अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्याइज खेलमा फर्कन सकेन र पराजित भयो ।
जारी लिगमा ब्रिगेड ब्वाइजको यो दोस्रो हार हो । उसको तीन खेलमा तीन अंक मात्र जोड्न सफल भएको छ । मनाङको तीन खेलमा नौ अंक रहेको छ ।











