गर्मी मौसममा कोरोना भाइरस हराउँदैनः अमेरिकी वैज्ञानिक
अमेरिकाका वैज्ञानिकहरुले गर्मी मौसममा कोरोना भाइरस नहराउने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गर्मी मौसम लागेसँगै कोरोनाको प्रकोप टरेर जाने दाबी गरेका थिए।
नेसनल एकेडेमी अफ साइन्सेस कमिटीले अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई एक पत्र लेख्दै कोरोना भाइरस गर्मी मौसममा नहराउने बताएका हुन्।
पत्रमा जाडो मौसममा जस्तै गर्मी मौसममा पनि कोरोना भाइरस सक्रिय हुने कुरा उल्लेख गरिएको छ। त्यस पत्रमा चीनको उदाहरण प्रस्तुत गरिएको छ। पत्रमा भनिएको छ,‘चीनमा अधिकतम तापक्रम भएको स्थितीमा पनि भाइरस तीव्र रुपमा फैलियो, त्यहाँ प्रत्येक संक्रमित व्यक्तिले औसत दुई व्यक्तिमा कोरोना सारे।’
डाक्टर विलियम स्क्याफनरका अनुसार कोरोना भाइरसबाट बच्न शारीरिक दुरी व्यवस्थापन गर्नु र आफ्नो सरसफाइ गर्नु नै सबैभन्दा उत्तम उपाय हो। स्रोतः नेपाल खबर