१६ हजार मजदुरलाई सलमान खानको आर्थिक सहयोग
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणका कारण लकडाउनमा बसेका मजदुरहरूलाई बलिउड अभिनेता सलमान खानले आर्थिक सहयोग गरेका छन् । खानले १६ हजार मजदुरका लागि तीन÷तीन हजार भारतीय रूपैयाँका दरले आर्थिक सहयोग गरेका हुन् ।
उनले बलिउड चलचित्र क्षेत्रमा काम गर्ने १६ हजार मजदुरलाई पहिलो चरणमा हरेकको खातामा तीन हजारका दरले रकम पठाएको पश्चिम भारतीय सिने कर्मचारी संघका अध्यक्ष वीएन तिवारीले जानकारी दिए। यसअघि नै उनले २५ हजार मजदुरलाई सहयोग गर्ने घोषणा गरेका थिए।
उनले संघसँग मजदुरहरूको सूची मागेका थिए । संघले १९ हजार मजदुरको नाम पठाएको थियो। तीमध्ये १६ हजार मजदुरको खातामा पैसा पठाएका हुन्।
संघमा रहेका केही मजदुरले आफूहरू समस्यामा नपरेको भन्दै सहयोग लिन अस्वीकार गरेका थिए। सलमानले अप्रिल महीनाका लागि सहयोग गरेका मजदुरहरूलाई मे महीनामा पनि तीन हजारको दरले सहयोग गर्ने भएका छन्।
सलमानले २५ हजार मजदुरको एकाउन्ट नम्बर मागेका थिए। अहिले १६ हजार मजदुरलाई सहयोग गरिएको र बाँकी ९ हजारलाई पनि चाँडै सहयोग गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूमध्ये तीन हजार मजदुरलाई यशराज प्रोडक्सन हाउसले पाँच हजारका दरले सहयोग गरेको थियो।