भीम विराग प्रतिष्ठानबाट ११ जना सम्मानित हुँदै

मकवानपुर/भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले विभिन्न विधाका ११ जनालाई सम्मान गर्ने भएको छ । यही फागुन १७ गते विशेष कार्यक्रमबिच सम्मान प्रदान गरिने प्रतिष्ठानका अध्यापक केशवलाल श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमका बारेमा जानकारी दिन बुधबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले समाजका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्न लागिएको बताए ।
प्रतिष्ठानले भीम विराग राष्ट्रिय साहित्य पुरस्कारबाट काठमाडौंकी माया ठकुरी, भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कारबाट रुपन्देहीका गायक हेमन्त शर्मा, भीम विराग राष्ट्रिय कला पुरस्कारबाट मकवानपुरका कलाकार भोलाराज सापकोटा र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कारबाट काठमाडौंका पत्रकार तथा साहित्यकार ठाकुर बेल्वासेलाई सम्मान गर्ने भएको छ ।
प्रत्येक विधाका पुरस्कृतलाई जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । चारैवटा राष्ट्रिय पुरस्कार हेटौँडा उपमहानगरपालिकाको आर्थिक व्यवस्थापनमा गतवर्षदेखि प्रदान गर्न सुरु गरिएका हुन् ।
यसैगरी, प्रतिष्ठानले १५ हजार राशिको तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी सम्मानबाट मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठ, शिला नारी सम्मानबाट मकवानपुरकी महिला उद्यमी मेनका श्रेष्ठ, चिनुकुमारी लामा स्मृति साहित्य सम्मानबाट मकवानपुरका साहित्यकार तथा बाल साहित्य अभियानकर्मी दीपक गौतमलाई सम्मान गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
यस्तै, २० हजार राशिको रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत सम्मानबाट पर्वतका लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई सम्मान गरिने भएको छ । अध्यक्ष श्रेष्ठका अनुसार १० हजार राशिको भीम–मथुरा बाल प्रतिभा सम्मानबाट मकवानपुरकी विद्यार्थी रीतिका छत्कुली, मङ्गलादेवी स्मृति स्वास्थ्य सेवा सम्मानबाट मकवानपुरकी स्वास्थ्यकर्मी निर्मला ब्लोन र अजित सेन–कमलेश्वरी गुप्ता भिन्न क्षमता सम्मानबाट मकवानपुरका दृष्टिविहीन मेकानिक सुदर्शन ढकाललाई सम्मान गरिने छ ।
पुरस्कार वितरण समारोहसँगै गायक हेमन्त शर्मा तथा लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्माको विशेष साङ्गीतिक प्रस्तुति रहने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको अक्षयकोष सहयोगार्थ सो साङ्गीतिक समारोह आयोजना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।