बार्सिलोनाका ६ बोर्ड सदस्यले दिए राजीनामा
बार्सिलोना फूटबल क्लबमा दुई उपाध्यक्ष सहित बोर्डका ६ सदस्यले राजीनामा दिएपछि संकट गहिरिएको छ ।
एउटा संयुक्त पत्रमा हस्ताक्षर सहित उनीहरूले क्लब व्यवस्थापनको तरिका बदल्न नसकेको बताए अनि सम्भव भएसम्म छिटो अध्यक्ष पदको निर्वाचन गर्न आह्वान गरे ।
मंगलवार क्लब अध्यक्ष जोसेप बार्टोमिउले उपाध्यक्षहरू एमिली रूसाउद र अनरिके तोम्बास र निर्देशकहरू सिलीभयो एलियास र जोसेप पोन्तलाई राजीनामा दिन प्रेरित गरेका थिए । आफ्ना आलोचकलाई हटाउने उनको योजना थियो । तर उनको निकट मानिएका जोर्डी काल्सामिग्लिया र मारिया टेइक्सिडोरले पनि राजनीमा दिएपछि बार्टोमिउ छक्क परेका छन् ।
बार्टोमिउले सन् २०२१ सम्म चुनाव नगराउन पाउँछन् तर केही बोर्ड सदस्यहरूले उनलाई निर्वाचन मिति अघि सार्न भनेका थिए । बोर्डका आधाभन्दा कम सदस्यले राजीनामा दिएकाले बार्टोमिउ हालका लागि अध्यक्ष पदमा बहाल रहन पाउनेछन् ।
केही समययता क्लब बोर्ड र खेलाडीहरूबीचको तनाव बढिरहेको छ । खेलाडीहरूलाई तलब कटौतीको निर्णय उनले थोपरेपछि लियोनेल मेस्सी र अन्य खेलाडीले क्लबको खुला आलोचना गरेका थिए ।
यसअघि क्लबको बोर्डले एउटा कम्पनीलाई पैसा तिरेर मेस्सी लगायतका खेलाडीविरुद्ध सामाजिक सञ्जालमा अभियान चलाउन लगाएको सार्वजनिक भएपछि चर्को विवाद उठेको थियो । एजेन्सी











