हेटौँडा एकेडेमीको २८औँ अभिभावक दिवस सम्पन्न
मकवानपुर । हेटौँडा एकेडेमीको २८औँ अभिभावक दिवस शनिबार भव्य रूपमा सम्पन्न भएको छ। एकेडेमीका सञ्चालक अरुणराज सुमार्गीको सभाध्यक्षता तथा शिक्षा विद् देव श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपाने र वडा नम्बर ११ की वडाध्यक्ष जुना दाहालले पछिल्लो समय विद्यार्थीहरूमा मोबाइल प्रयोगको अत्यधिक प्रभाव देखिन थालेको उल्लेख गरे। उनीहरूले मोबाइलको दुरुपयोगका कारण विभिन्न नकारात्मक घटनाहरू बढ्दै गएको भन्दै विद्यार्थीहरूलाई मोबाइलको लतबाट जोगाउन अभिभावक, शिक्षक र विद्यालय प्रशासनले साझा पहल गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका अवसरमा शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै शिक्षा विद् देव श्रेष्ठलाई माधवराज सुमार्गी शैक्षिक सम्मान प्रदान गरिएको थियो। सम्मान ग्रहण गर्दै श्रेष्ठले आफूलाई गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै, आफूले अध्यापन गराएका विद्यार्थीहरू आज शिक्षालगायत विभिन्न क्षेत्रमा अग्रसर भएको देख्दा अत्यन्त खुशी लागेको बताए। कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेपालका गायक धिरज राईले आफ्नो साँगितिक प्रस्तुतिमार्फत अभिभावक, शिक्षक, विद्यार्थीहरुले मनोरञ्जन गराएका थिए ।











