दाहाल–नेपाल समूहका नेता कार्यकर्ता भृकुटीमण्डपमा

हेटौडा न्युज
१४ पुष २०७७, मंगलवार १२:२९
;

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका नेता कार्यकर्ताहरु भृकुटीमण्डपमा भेला हुने क्रम सुरू भएको छ । दाहाल–नेपाल समूहले काठमाडौँ उपत्यकामा मात्रै ५० हजार कार्यकर्ता उतार्ने तयारी स्वरूप भृकुटीमण्डपमा भेला हुने क्रम सुरू भएको हो ।

केन्द्रीय नेताहरूकै नेतृत्वमा प्रदर्शनका लागि सो समुहका नेता तथा कार्यकर्ताहरु प्रदर्शनका टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलूससहित भृकुटीमण्डपमा भेला हुने थालेका हुन् ।

दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताहरु प्रतिनिधिसभा विघटनविरूद्ध सडक संघर्षमा उत्रिएका छन् ।

पार्टीको आन्तरिक विवादमा जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तवरले भंग गरिएको भन्दै दाहाल–नेपाल समूहले आज देशव्यापी प्रदर्शन गर्दै छ ।

प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशका विभिन्न स्थानमा खटिएका छन् । काठमाडौँमा हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।

स्थायी कमिटी सदस्यहरू युवराज ज्ञवाली, वेदुराम भुसाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई र अमृतकुमार बोहरा लगायतका नेतृत्वमा कार्यकर्ता भेला हुन थालेका हुन् ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ ।

सो समूहले विरोध सभाका लागि भन्दै सडकको बीच भागमा नै मञ्च बनाएपछि बिहानैदेखि प्रदर्शनी मार्गमा गाडी डाइभर्सन गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*