हेटौंडा गोल्डकपको उपाधि विजय युथको पोल्टामा
मकवानपुर । भिडोल हेटौंडा गोल्डकपको उपाधि आयोजक विजय युथ क्लबको पोल्टामा परेको छ । आज हेटौंडा–१० फरेष्ट्री चौरमा भएको फाइनल खेलमा सेन्ट्रल कलेज बीएफसी भरतपुरलाई हराउदै विजय युथले उपाधि हात पारेको हो ।

आयोजक विजय युथले भरतपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै जित पक्का गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो गोल खेलको ५७ मिनेटमा भरतपुरका तर्फबाट जर्सी नम्बर १४ का रन्जित आलेमगरले गरे ।

गोल खाएको तीन मिनेट मै विजय युथका सन्त गुरुङले गोल फिर्ता गरे । गुरुङको गोलसंगै खेल बराबरी पुग्यो । आज भएको खेलको उत्कृष्ट खेलाडी उनै गुरुङ भए ।

खेलको ६६ मिनेटमा भरतपुरतका खेलाडीले विजय युथका खेलाडीलाई डिबक्स भित्र लडाएपछी पाएको पेनाल्टी सदुपयोग गर्दै विजय युथका रुपेश केसीले गोल गरे ।

सेमिफाईनलमा सर्लाहीलाई ५–१ गोल अन्तरले हराउँदै विजय युथ क्लब फाईनलमा प्रवेश गरेको थियो भने पहिलो सेमिफाईनलमा हर्दि युवा समाज राप्तीलाई १–० गोल अन्तरले हराउँदै सेन्ट्रल कलेज फाईनलमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा विजेता विजय युथ क्लबले नगद ३ लाख प्राप्त गरेको छ भने । उपविजेता सेन्ट्रल कलेजले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

विधागत रुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद सात–सात हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक विजय युथका अशोक बराल घोषित भए । वेस्ट डिफेन्डरमा विजय युथकै सुरज विष्ट, वेस्ट मिडफिल्डरमा सोही टिमका विश्व अधिकारी, उच्च गोलकर्तामा उपविजेता बिएफसीबाट खेलेका विदेशी खेलाडी जोन ग्लोरी, वेस्ट फरवार्डमा विजय युथका विमल राना र वेस्ट कोचमा विजय युथकै सुविन घिमिरे घोषित भएका छन् ।













