चौदण्डीगढीको पोस्टमा एपिएफको १४ गोल
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा एपिएफले चौदण्डीगढी नगरपालिकालाई १४–० गोल अन्तरले हराएको छ । विभागीय टिम एपिएफ क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिका बिच आज भएको खेलमा एपिएफले फराकिलो जित निकालेको हो ।
ललितपुरको सातदोबाटोस्थित् एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले १४–० गोल अन्तरले हराएको हो।
यसअघि पहिलो लेग खेलमा एपिएफले चौदण्डीगढीलाई २२–० गोलले हराएको थियो।
चौदण्डीगढीविरुद्धको दोस्रो खेलमा एपिएफकी सावित्रा भण्डारीले सर्वाधिक आठ गोल गरिन् । त्यस्तै, कप्तान अनिता बस्नेत र अनिता केसीले समान २–२ गोल गर्दा अनु लामा र रविना गोलेले १–१ गोल गरे।
सावित्राले खेलको चौंथो, १८, ३६, ४३, ५३ र ५६औं मिनेटमा गोल गर्दै दोहोरो ह्याट्रिक पूरा गरेकी थिइन् भने खेलको ७२ र ८७औं मिनेटमा थप दुई गोल गरेकी थिइन्।
अनिता केसीले खेलको २४ र ४०औं मिनेटमा गोल गर्दा कप्तान अनिता बस्नेतले पहिलो हाफको अतिरिक्त समय र ६४औं मिनेटमा गोल गरेकी थिइन्।
यता अनु लामाले ७६औं मिनेटमा गोल गर्दा रविनाले ७९औं मिनेटमा गोल गरिन्।











