मलेखुमा बालबालिकाको पुस्तक चर्चा

मकवानपुर/धादिङको मलेखुमा रहेको वागेश्वरी माध्यमिक विद्यालयका बालबालिकाहरूले पुस्तक चर्चा कार्यक्रम सम्पन्न गरेका छन् । कक्षा ५ मा पढ्ने १३ जना बालबालिकाले शुक्रबार आफूले अध्ययन गरेका फरकफरक १३ पुस्तक माथि चर्चा गरेका हुन् ।
विद्यालयको जुनियर बाल क्लबको आयोजनामा पठन संस्कृति विकासका लागि पुस्तक चर्चा गरिएको थियो । कार्यक्रममा बालबालिकाको प्रस्तुतिपछि बोल्दै प्रमुख अतिथि बेनीघाट रोराङ-३ का वडाध्यक्ष भुवन त्रिपाठीले पठन संस्कृति विकासका लागि पुस्तकालय प्रबर्द्धनमा वडाले सहयोग गर्ने बताएका छन् । त्यसका लागि विद्यालयको प्राथमिक तहको पुस्तकालय व्यवस्थापनमा १ लाख रुपैयाँ सहयोग गर्ने वडाध्यक्ष त्रिपाठीले घोषणा गरेका थिए ।
कार्यक्रम अतिथिका रुपमा सहभागी अभिभावकहरूले कार्यक्रमले निरन्तरता पाउनुपर्ने धारणा राखेका थिए ।
विद्यालयको कक्षा ५ का विद्यार्थी समीप त्रिपाठीको अध्यक्षतामा सम्पन्न पुस्तक चर्चाको सञ्चालन सोही कक्षाका विद्यार्थीहरू सुस्मिता सहनी र प्रिती तामाङले गरेका थिए ।