बागमतीका मुख्यमन्त्री बानियाँले मिठुमायालाई घर बनाईदिए

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेकी मिठुमाया सुनारलाई घर बनाइदिएका छन् । मुख्यमन्त्री बानियाँले आफ्नो सेवा–सुविधाबापतको रकममा रकम थप गरी ४ लाख ६५ हजार रुपैयाँ लागतमा बनेको शौचालयसहितको भूकम्पप्रतिरोधी तीनकोठे घर बनाएर आज हस्तान्तरणसमेत गरेका थिए ।
मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा निर्माण गरिएको उक्त घर हस्तान्तरणसँगै मिठुमाया र उनका ५ जना छोराछोरी अब आफ्नै घरमा बसोबास गर्न पाउने भएका छन्।
घर निर्माण समितिका संयोजक प्रकाश बर्तौलाका अनुसार ७ लाख रुपैयाँको लागत अनुमान गरिएको भएपनि कतिपय सामग्रीहरु स्थानीयहरुले निशुल्क दिएकाले ४ लाख ६५ हजार रुपैयाँमै निर्माण सम्पन्न भएको बताएका छन् । घर हस्तान्तरण गरेसँगै मुख्यमन्त्री बानियाँले एकल महिला मिठुमायालाई जीविकोपार्जनका लागि बाख्रापालन गर्न भन्दै नगद २० हजार रुपैयाँसमेत हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सरकारका गरिबी निवारण तथा सहकारी मन्त्री विनु रायमाझीले भान्साको लागि आवश्यक पर्ने सामानसहित खाद्यान्नसमेत सहयोग गरेकी थिईन् ।
हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री बानियाँले आफू बिपी कोईरालाको दर्शनबाट प्रेरित भएकोले गरीब, निमुखाहरुलाई सेवा गर्नु पहिलो कर्तव्य रहेको धारणा व्यक्त गरेका थिए । प्रदेश सरकारले नीति नै बनाएर गरीबहरुका लागि १ हजार घरहरु निर्माण गर्ने लक्ष्य रहेको बताएका थिए । बानियाँले आफ्नो निर्वाचन क्षेत्रको राक्सीराङ–१ इन्द्रुङका सुमनसिं चेपाङ, कैलाश गाउँपालिका–४ धुस्राङका लालकुमार प्रजाको घर समेत निर्माण भइरहेको छ ।