१६ वर्षिया बालिकाका कारण मकवानपुरमा रोकियो बालविवाह

२० वर्ष भन्दा कम उमेरमा हुने विवाहलाई नेपालको कानुनले गैरकानुनी मानेतापनि विभिन्न विकट क्षेत्रमा बालविवाह हुन भने बन्द भएको छैन । तर मकवानपुरको बकैया गाउँपालिकामा भने २ वटा बालविवाह हुनबाट रोकिएको छ । बकैया–७ मा १७ वर्षीय बालक र १६ वर्षीया बालिकाको विवाह गर्न लागिएको सूचनाको आधारमा गैरकानुनी विवाह हुनबाट रोकिएको हो ।
सिबिन बालहेल्पलाइनको पहल, वडा कार्यालय र हात्तिसुढे प्रहरी चौकीको सहयोगमा बालविवाह रोकिएको हो ।
बकैया–५ मा आफ्नै परिवारबाट माघ २ गते एक बालिकाको विवाह गरिदिन लागेपछि बालिका आफैंले बालहेल्पलाइनको १०९८ नम्बरमा फोन गरेर विवाह रोक्न आग्रह गरेकी थिइन् ।
बालिकाको सूचनाको आधारमा प्रहरी र वडा कार्यालयको समन्वयमा वडा अध्यक्ष शेरमान घलान, बालमैत्री सहजकर्ता कल्पना गोले, हात्तिसुढे प्रहरी चौकीका इन्चार्ज कृष्ण गौतम र बालहेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीको टोली बालिकाको घरमा गइ स्थानीय सरोकारवाला सहित बालविवाह रोकेको हो ।
बालविवाहबाट रोकिएका २ जना बालिकाहरुले कक्षा ८ बाट पढाइ छोडेका हुनाले बालबालिकाको पढाइलाई पुनः निरन्तरता गराउनको लागि आवश्यक सहयोग गर्न वडा कार्यालय तयार रहेको ७ नं. वडाका अध्यक्ष रामकाजी लामिछानेले जनाएको छ । बालिकाहरु बालहेल्पलाइन हेटौंडाको संरक्षणमा राखिएको छ ।